काठमाडौं । दूरसञ्चार तथा प्रविधि क्षेत्रको नियमनकारी निकाय नेपाल दुरसञ्चार प्राधिकरणले अनलाइनमार्फत हुने गैरकानुनी आर्थिक गतिविधि नियन्त्रणमा लागेको छ । दुरसञ्चार प्राधिकरणले अनलाइनमार्फत हुने भर्चुअल मुद्रा (क्रिप्टोकरेन्सी), बिटक्वाइन, हाइपर नेटवर्किङ र अनलाइन जुवालगायतका वेभसाइट र एप बन्द गरेको छ ।
यस्ता अनलाइन र एप नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेधका साथै यी एपहरुलाई कालोसूचीमा राखिएको प्राधिकरणले जानकारी दिएको छ । यस्ता अनलाइन र एपका बारेमा जानकारी गराउन प्राधिकरणले अनुरोधसमेत गरेको छ ।
अनलाइन प्रविधि तथा भर्चुअल माध्यमबाट हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर फन्ड, नेटवर्किङ अनलाइन र अनलाइन जुवा गैरकानुनी क्रियाकलाप हुनुका साथै आर्थिक अपराधसँग जोडिएको भन्दै प्राधिकरणले यस्ता कार्यमा संलग्न नहुन अनुरोधसमेत गरेको छ ।
यस्तो क्रियाकलापमा सहभागी हुनेलाई कडा कारबाही हुने जानकारी प्राधिकरणले गराएको छ । स्वदेश तथा विदेशमा बस्ने धेरै नेपालीहरु क्रिप्टो, हाइपर फन्ड र नेटवर्किङ जस्ता अवैध कारोबारमा संलग्न भएको पाइएपछि नियन्त्रण गर्न वेभसाइट र एप बन्द गर्ने निश्कर्षमा प्राधिकरण पुगेको हो ।
विदेशमा बस्ने नेपालीहरुले क्रिप्टो र हाइपर फन्ड जस्ता अवैध नेटवर्किङ व्यवसायमा लगानी बढाएपछि यसको असर रेमिट्यान्स अप्रावहमा परेको छ ।रेमिट्यान्स आउने क्रम कम हुँदै गएको छ ।क्रिप्टोकारोबारको नाममा नेपालका विभिन्न बैंकबाट डलरमा भुक्तानी भएको पाइएको छ ।
नेपालमा मौद्रिक उपकरणका रुपमा कानुनी मान्यता नदिएको भर्चुअल करेन्सी, नेटवर्किङ मार्केटिङ र अनलाइन जुवाजस्ता डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार बढ्दै गएको निश्कर्ष प्राधिकरणको छ । अवैधानिक क्रिप्टोलगायत कारोबार नियन्त्रणमा सहयोग गर्ने प्राधिकरणले स्पष्टपारेको छ ।
क्रिप्टोमुद्रामा लगानी तथा कारोबारका लागि व्यक्तिहरूको फोन, म्यासेज तथा ओटीटीमार्फत सम्पर्क राख्छन । दूरसञ्चार कम्पनी तथा इन्टरनेट सेवाप्रदायकहरूसँग त्यस्ता संवेदनशील सूचनाहरू लिएर प्राधिकरणले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा राजस्व अनुसन्धान विभागहरूलाई सहयोग पुर्याउन सक्छ । प्रविधिबाट कारोबार हुने भएकाले यसमा प्राधिकरणले जानकारी राख्न सक्ने छ ।
यस्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले क्रिप्टोमा कारोबारमा संलग्न केही व्यक्तिहरुलाई पक्राउ गरि कारबाही अघि बढाएको छ ।
यसअघि प्राधिकरणले अनलाइनमा हुने गैरकानुनी जुवाका प्रकरणमा भने त्यस्ता साइटहरूलाई पहिचान गर्ने तथा ट्रयाक गर्नेलगायत विविध प्राविधिक पक्षहरूमा सहयोग गर्दै आएको प्रायधिकरणले जानकारी गराएको छ ।