रियाद । सूर्यचन्द्र अङ्कित राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) रियादस्थित किङ खालिद इन्टरनेसनल एयरपोर्टमा जहाजको भीडमा अवतरण हुँदा त्यहाँका नेपालीले खुसी व्यक्त गरे । साउदी अरेबियामा नेपाली ध्वजावाहकको उपस्थिति काठमाडौंको हवाई सम्पर्क सञ्जाल विस्तार मात्रै नभएर नेपालको सान र गौरव पनि हो ।
नेपालले कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षपछि ध्वजावाहक वायुसेवा निगमले अरबको दोस्रो ठूलो मुलुक साउदीमा सीधा हवाई उडान सुरु गरेकामा नेपाली समुदायले खुसी व्यक्त गरेका छन् । साउदीमा रहेका ४ लाख नेपालीका विभिन्न सङ्घ सङ्गठन र गैरआवासीय नेपालीका संस्थाले ध्वजावाहकको उपस्थितिले मध्यपूर्वमा नेपालीको छवि थप उचाइमा पुगेको बताएका छन् ।
शनिबार राजधानी रियादमा आयोजित कार्यक्रममा नेपाली दूतावासका कार्यबाहक राजदूत दिलिपकुमार पौडेलले नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएको महत्वपूर्ण मुलुक साउदी अरबमा निगमको सीधा उडानले कूटनीतिक सम्बन्धलाई थप बलियो पार्ने मात्र नभर्इ आर्थिक उन्नतिको ढोका फराकिलो भएको विश्वास व्यक्त गरे ।
‘निगमले धेरै लामो प्रयासपछि रियादमा सिधा उडान सुरु गरेको छ, यसले निगमको आर्थिक उन्नतिलाई पनि फराकिलो बनाउने र गन्तव्य विस्तार पनि हुनेछ । मुलुकको फ्लाइट क्यारियसको छुट्टै महत्व र पहिचान हुन्छ, यसले मुलुकको प्रवर्धन गर्नमा महत्वपूर्ण भूमिका खेल्नेछ’, उनले भने ।
गैरआवासीय नेपाली सङ्घ साउदी अरेबियाका संयोजक राजेन्द्र अर्यालले साउदीमा सीधा उडानले मुलुकको व्यापार प्रवर्धनमा टेवा पुग्ने बताए। उनले भने, ‘साउदी अरबमा नेपाली ध्वजावाहकले सीधा उडान सुरु गर्दा सबैभन्दा खुसी हुनेमा म पनि एक हुँ, यो उडान स्थापना गराउन हामीले वर्षौंदेखि गरेको प्रयास सफल भएको छ, अब दुबै मुलुकबीच भइरहेको व्यापार प्रवद्र्धन हुनेछ, निजी क्षेत्रले लाभ उठाउन ध्वजाबाहकले मद्दत गर्नेछ ।’
निगमको उद्घाटन उडानमा सहभागी भएका नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालीको बाहुल्यता रहेको साउदी अरबमा नेपाली ध्वजाबाहकको उपस्थितिले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन र निगमको आर्थिक उन्नतिका लागि पनि फलदायी हुने विश्वास व्यक्त गरे । उनले साउदी अरेबियामा रहेका नेपालीलाई आफूले मिहिनत गरेर कमाएको पैसा एउटै माध्यमबाट स्वदेश पठाउन र नेपालका विभिन्न व्यवसायमा लगानी भित्र्याउन पनि आह्वान गरे ।
नेपाल र साउदीबीच सिधा उडान नहुँदा कोभिड महामारीका बेला रियाद, दमामलगायतका सहरमा ज्यान गुमाएका नेपाली कामदारका शव स्वदेश फर्काउन ज्यादै समस्या झेल्नु परेको थियो । अब निगमको उडानले शव नेपाल फर्काउन पनि सहज हुने रियादमा रहेका नेपाली समुदायका प्रतिनिधिको विश्वास छ । सिधा उडान नहुँदा विदेशी वायुसेवालाई हारगुहार गर्दा पनि सहजता थिएन ।
निगमले उडान घोषणा गर्ने बित्तिकै यहाँको हवाई भाडा सस्तो भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सीधा उडानले निगमको गुडविल विस्तार गर्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।