काठमाडौं । २६ दिनपछि एकाएक १०० अंकभन्दा बढीको उछाल देखिएको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पुनः सुस्ताएको छ । स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको बाहना र व्यापारमा ब्रेक लागेको परिस्थितिलाई देखाएर बजार बढ्ने गतिमा जाने आँकलन भएकोमा सोमबार फेरि सुस्ताउन पुगेको हो ।
यद्यपि, कारोबार सुरु भएको आधा घण्टामा सूचकले २४ अंकको उचाइ लिएको थियो । तर, त्यसपछि भने सामान्य बढ्ने र अधिक घट्ने गर्दै अन्तिम समयमा ३४.९५ अंकले घटेर २३८६.१७ अंकमा आइपुगेको छ ।
सोमबार घट्ने/बढ्ने क्रममा ६ वटा उचाइ र घटाइका बिन्दुहरु पच्छ्याएको थियो । सोमबार पनि अन्तिम समयमा घटेर कारोबार रोकिएकाले मंगलबार पनि बजार केही घट्ने चरणमै रहने संकेत गरेको छ ।
आइतबार ३६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा माथि बढेकोमा सोमबार जम्मा २७ कम्पनीको मूल्य बढेको छ । अधिकतम मूल्य बढ्ने सूचीमा जाल्पा सामुदायिक लघुवित्तको सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
उता, घटेको बजारलाई १६३ कम्पनीको सेयर मूल्यले साथ दिएको छ । सबैभन्दा बढी सेन्ट्रल फाइनान्सको ५.३३ प्रतिशतले मूल्य घटेको छ । सोमबार कारोबार रकममा पनि सिथिलता देखिएको छ । यद्यपि, सुरुवाती कारोबार रकम अन्तिम समयमा परिवर्तन हुने गरेको देखिन्छ । आइतबार २ अर्ब ५६ करोडको सेयर किनबेच भएको देखिएकोमा नेप्सेले अध्यावधिक गरेको तथ्यांकमा जम्मा २ अर्ब १९ करोड मात्रै कारोबार भएको देखाएको छ । सोमबार २ अर्ब ४ करोड रुपैयाँको सेयर किनबेच भएको देखिएको छ ।
खासगरी, अर्थतन्त्रका प्रमुख सूचकहरुमा सुधार नआएको, अर्थतन्त्र सुधारका लागि सरकारले कुनै पनि पहल अघि नबढाएको, खाली स्थानीय तहको चुनाव हुँदा पैसा बाहिर आउने र त्यसले तरलता संकट टर्ने बाहनाले बेला बेला बजारलाई उचाल्ने प्रयास भए पनि लगत्तै ओरालो लाग्ने गरेको देखिन्छ । निरन्तर घट्दो बजारमा फागुन २९ मा १०० अंकभन्दा बढीले बजार सूचक उक्लिएको थियो । तर, त्यो टिकाउ हुन सकेन र बजार घट्दै कारोबार भयो । कम्तीमा एक साता बजार २२०० देखि २३०० कै बिन्दुलाई पच्छ्याएर कारोबार हुने देखिन्छ ।