काठमाडाैं । नेपाल धितोपत्र बोर्डबाट इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले अनुमति पाएको छ ।
कम्पनीले नेपालमा साख निर्धारण व्यवसायका लागि बोर्डबाट अनुमति पाएको हो ।
बाेर्डका वितरण विभागका उपकार्यकारी निर्देशक रुपेश केसीले इन्फोमेरिक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविन पुडासैनीलाई अनुमतिपत्र हस्तान्तरण गरेका हुन् ।
इन्फोमेरिक्स नेपालमा क्रेडिट रेटिङ सर्भिस दिने उद्देश्यले सन् २०२० मा पब्लिक कम्पनीका रुपमा स्थापना भएको हो । यो कम्पनी भारतको भ्यालुएसन एन्ड रेटिङ प्रालिको सहायक कम्पनी हो । जुन भारतमा एसईबीआईमा रजिस्टर्ड तथा आरबीआईबाट मान्यताप्राप्त क्रेडिट रेटिङ एजेन्सी हो ।
इन्फोमेरिक्सले नेपालमा विभिन्न लिखत, डिबेन्चर, ऋणपत्रका साथै आईपीओ, पब्लिक अफर, हकप्रदजस्ता विषयमा विविध सेवा दिनेछ । साथै बैंक सुविधाका लागि टर्म लोन, कार्यशील पुँजी सीमा, गैरवित्तीय रेटिङ, इन्स्योरेन्स कम्पनी, सम्पत्ति व्यवस्थापनजस्ता काम पनि यसले गर्नेछ ।
‘नेपालमा तेस्रो कम्पनीका रुपमा इन्फोमेरिक्स जोडिनाले प्रतिस्पर्धी लागतमा कुशल र स्तरीय साख निर्धारण सेवा प्राप्त हुनेछ’, इन्फोमेरिक्सका सीईओ पुडासैनीले बताए ।
यसअघि स्थापना भएका भारतीय कम्पनी इक्रा नेपाल लिमिटेड र केयर रेटिङ नेपालले पनि नेपालमा कारोबार गरिरहेका छन् ।