काठमाडाैं । तपाईं नयाँ चालक अनुमति पत्र (लाइसेन्स) लिने चाहनामा हुनुहुन्छ ? बायोमेट्रिक दर्ता, लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षा ‘ट्रायल’ दिन विसं २०८१ सम्म ‘प्याक भइसक्यो, अनलाइन फाराम भर्न सिस्टम पनि क्लोज छ भन्ने टेन्सनमा हुनुहुन्छ ?
दिक्क नमान्नुहोस, यही वैशाख २५ सम्म पर्खनुहोला । बागमती प्रदेश, मुख्यमन्त्रीको कार्यालय, प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय तथा मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालयले नयाँ लाइसेन्सका लगि सेवाग्राहीले अनलाइन फाराम समावेश सुनिश्चित भएको भोलिपल्ट बायोमेट्रिक दर्ता, पर्सिपल्ट लिखित परीक्षा तथा त्यसपछि ट्रायल दिने चुुस्त प्रणालीको व्यवस्था गर्ने गरी आवेदन प्रणाली खुला गर्ने गरी तयारी गर्दैछ ।
यसबाट सेवाग्राहीले बिचौलियाबिना सेवा पाउने तथा यस क्षेत्रमा चामत्कारिक फड्को मारिने विश्वास गरिएको छ ।
सवारी चालक अनुमतिपत्र कार्यालय ठूलो भर्याङका निमित्त प्रमुख सञ्जय थापाका अनुसार नयाँ लाइसेन्सका लगि सेवाग्राहीले अनलाइन फारम समावेश सुनिश्चित भएको भोलिपल्ट बायोमेट्रिक दर्ता, पर्सिपल्ट लिखित परीक्षा तथा यसपछि ट्रायल दिने चुुस्त प्रणालीको व्यवस्था कसरी मिलाउन सकिन्छ भन्ने गृहकार्यमा छौं । अब खुला हुने अनलाइनमा यस्तो प्रणाली विकास हुन्छ ।
लाइसेन्स वितरण, नवीकरण यसका लागि बायोमेट्रिक दर्ता, लिखित परीक्षा, ट्रायलको प्रबन्ध तथा राजस्व संकलनलगायत सेवा प्रदान गर्दै आइरहेको छ । सो कार्यालयले विसं २०७८ फागुन महिनासम्म लाइसेन्सका लागि अनलाइन फारम भरेका विसं २०८१ असारसम्म अफिस भिजिट डेट निर्धारण गरेका सबै सेवाग्राहीका काम यही वैशाख २५ गतेभित्र सम्पन्न गर्दैछ ।
‘हामी तीन वर्षका लागि निर्धारण गरेका काम यही वैशाख २५ भित्र सक्ने लक्ष्यका साथ सेवाग्राहीको सेवामा अहोरात्र जुटिरहेका छौं । यसका लागि बिहान ७ः३० देखि पाँचबजेसम्म सेवा प्रदान गरिरहेका छौं । बचौलियाबिनाको सेवा नै हाम्रो ध्येय हो’, उनले भने । अहिले देशभर करिब साढे ७ लाख सेवाग्राही नयाँ लाइसेन्स अनुमतिका पर्खाइमा रहेका बताइएको छ ।
करिब ३ वर्ष सोही कार्यालयको शाखा अधिकृतका रुपमा कार्यरत उनले विसं २०७७ पुस ५ देखि निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पनि सम्हाल्दै आएका छन् । उनका अनुसार तीन वर्षे कार्ययोजना बनाइ तालुकदार निकाय प्रदेश मुख्यमन्त्री कार्यालय, श्रम, रोगार तथा यातायात मन्त्रालय तथा यातायात व्यवस्था विभागमा प्रस्तुत गरे । ती निकायका उच्च नेतृत्वको निरन्तर उत्प्रेरणा र सहजीकरणले गर्दा कार्ययोजना कार्यान्वयन भइराखेको छ । र, यसले नतिजा दिन थालेको छ ।
आइतबार मात्र बागमती प्रदेश मुख्यमन्त्री रोजेन्द्र पाण्डेसँग निमित्त प्रमुख थापाले भेट गरेका थिए ।
श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात क्षेत्रको सुधारका लागि उच्च प्राथमिता दिएका छन् । यसैक्रममा उनले यातायात कार्यालयका सेवालाई छिटो, छरितो र चुस्त बनाउन विभिन्न नीतिगत सुधारको थालनी गरिएको मन्त्रालयले जनाएको छ ।