काठमाडौं । चिरायु नेसनल अस्पताल अब ‘चेन अस्पताल’का रूपमा विस्तार हुने भएको छ । आफ्नो सेवालाई देशव्यापी बनाउने उद्देश्यका साथ केही वर्षभित्रै चेन अस्पतालका रूपमा विस्तार गर्न तयारी थालिएको अस्पतालका बिजनेस डेभलपमेन्ट म्यानेजर हिमाल रानाले जानकारी दिए ।
गुणस्तरीय सेवा दिने उद्देश्यका साथ स्थापना भएको सो अस्पतालमा २०७७ सालबाट नयाँ व्यवस्थापन आएसँगै सेवा विस्तारमा आक्रामक ढंगबाट लागेको हो ।
दुई वर्ष कोभिड महामारीका कारण चाहेर पनि सेवा विस्तार गर्न नसकेको बताउँदै अब भने चेन अस्पतालका रूपमा विस्तार गर्नका लागि तयारी थालिएको उनको भनाइ छ । सेवालाई विकेन्द्रीकरण गर्ने र बिरामीको घरदैलोमै गुणस्तरीय सेवा दिने उद्देश्यका साथ चेन अस्पतालको अवधारणा अघि सारेर योजना बनाइरहेको उनको भनाइ छ ।
अस्पतालको सेवा विस्तारका लागि व्यवस्थापनले करिब ५० करोड रुपैयाँ लगानी थप गर्न लागेको अध्यक्ष हेमबहादुर गुरुङले जानकारी दिए । अस्पतालसँग नजिक रहेका बस्तीहरूमा अस्पतालहरू विस्तार गर्ने योजना चिरायुको हो । काठमाडौं बाहिर बुटवल, पोखरा र इटहरी क्षेत्रमा अस्पताल विस्तार गर्ने र काठमाडौं उपत्यका भित्र पनि मुख्य सहरभित्र विस्तार गर्ने तयारी गरिरहेको बताएका छन् ।
हाल ५५ बेडबाट सेवा दिँदै आएको अस्पतालले त्यो संख्या बढाएर १०० बेडमा लैजानका लागि आवश्यक प्रक्रियासमेत अगाडि बढाइसकेको अस्पताल व्यवस्थापनले जनाएको छ ।
पेपरलेस अस्पताल
चिरायुलाई पृथक अस्पतालका रूपमा विस्तार गर्ने उद्देश्यका साथ पेपरलेसको अवधारणा अघि सारेको छ । त्यसका लागि आवश्यक सफ्टवेर निर्माण भइरहेको छ । अस्पतालले अहिले पनि ई–सेवा र कोजेन्ट हेल्थको सहकार्यमा ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएर अनलाइन अपोइन्टमेन्ट सेवाको सुरुवात गरिसकेको छ । चिरायुमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि ई–सेवा मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ ।
बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुने अपेक्षा चिरायुको छ ।
सेवामा पनि अब्बल देखाउँदै
अस्पतालमा नयाँ व्यवस्थापन आएसँगै गुणस्तरीय सेवालाई निरन्तरता दिनका लागि प्रयासरत छन् । कर्पोरेट क्षेत्रका व्यक्तिहरूको संयुक्त लगानीमा सञ्चालन भएको सो अस्पताललाई पनि त्यही किसिमको सेवा सुविधा दिनका लागि कुनै कसर बाँकी नराखिएको अस्पतालका बिजेनस डेभलपमेन्ट म्यानेजर रानाको भनाइ छ ।
नयाँ व्यवस्थापन आएसँगै कोभिड संक्रमण तीव्र गतिमा बढेको र कोभिडको बेला पनि उत्कृष्ठ सेवा दिन सकिएको उनको दाबी छ । चिरायुमा कोभिडका बेला अक्सिजन अभाव हुन नदिएको उनले बताए । कोभिडका बिरामी मात्र १ सय ९० जनाको सफल उपचार गरेर पठाएको बताए ।
यी हुन थपिएका सेवा
अस्पतालमा नयाँ र गुणस्तरीय सेवा दिनकै लागि मिर्गौलाको उपचारसम्बन्धी हेमोडायलिसिस सेन्टरको स्थापना भएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणमा सहभागी भएका प्रोफेसर डा.उत्तमकुमार शर्माको समूह सहितको टिम राखेर हेमोडायलिसिस सेन्टर स्थापना भएको चिरायुले जनाएको छ ।
योसँगै नेपालमा पहिलो पटक ह्यापर एक्यूट सेन्टर पनि सञ्चालनमा आएको छ । हेमोडायलिसिस अहिले बेग्लै युनिटनै राखेर उपचार सुरु गरिएको छ । मनोसामाजिक डा.पवन शर्मा र ग्यास्ट्रो डा. अनुराग झा छन् । यसमा जाँडरक्सी र कुलतमा लागेका र त्यससम्बन्धी रोगका उपचार, परामर्श दिँदै आएको छ । यसमा विशेष युनिटनै भनेर राखिएको छ ।
वैशाख १ गते फिजियोथेरापी सर्भिस बिहानदेखि बेलुकासम्म नै दिने गरी सेवा विस्तार गरिएको छ । यस्तै वेलनेस प्याकेजहरू पनि ल्याएको छ । सुलभ दरमा वेलनेस प्याकेज ल्याएको अस्पताको भनाइ छ ।
अर्को भनेको आमा तथा बच्चाहरूका लागि गुणस्तर सेवा दिनका लागि विशेष सेन्टर ल्याउन लागिएको अस्पतालले जनाएको छ । मदर एन्ड चाइल्ड सेन्टर र डाइबेटिक क्लिनिक छिट्टै सञ्चालन गर्न लागिएको छ । डाइबेटिकका सबै सेवाहरू एकै छानामुनि दिने उद्देश्य राखिएको अस्पतालको भनाइ छ ।
अस्पतालको विशेषताका रूपमा युरोलोजिष्ट विभागमा प्रोफेसर डाक्टर उत्तमकुमार शर्मा, अर्थाडिपार्टमेन्ट विभागमा प्रोफेसर डा.प्रकाशकुमार महरा, प्रोफेसर डा.अर्जुनप्रसाद लामिछाने र डा.सुनिलजंग थापा छन् । चिरायुमा ग्यास्ट्रो इस्नेन्टटाइनल, हाडजोर्नी, नसासम्बन्धी र मिर्गौलासम्बन्धी विशेष उपचार गरिन्छ ।