काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग प्रधानसेनापति महारथी प्रभुराम शर्माले आज भेटवार्ता गरेका छन् । मन्त्री भुसाल र शर्माबीच विद्युत् विकास तथा खपतका विषयमा छलफल भएको थियो ।
मन्त्री भुसालले विद्युत् खपत बढाउन नेपाली सेनालाई आग्रह गर्दै सेनाको भान्सामा प्रयोग भइरहेको अन्य इन्धनलाई बिजुलीले विस्थापित गर्नुपर्नेमा जोड दिएकी हुन् । त्यसका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्न मन्त्रालय तयार रहेकाे पनि मन्त्री भुसालकाे भनाइ छ ।
नेपाली सेनाले प्रयोग गर्ने सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा परिणत गर्न र आगामी दिनमा विद्युतीय सवारीसाधन नै खरिद गर्ने गरी निर्णय लिन पनि आग्रह गरेकी थिइन् । आफूले निरन्तर विद्युत् खपत र निर्यातलाई जोड दिइरहेकोे उल्लेख गर्दै मन्त्री भुसालले विद्युत् खपत बढाएर स्वदेशी ऊर्जालाई प्रवर्धन गर्नु सबैको दायित्व भएकाे बताइन् ।
मन्त्री भुसालले उनले नेपाली सेनाले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा जलविद्युत् परियोजनाको विकासमा पनि सेनाको योगदान रहने विश्वास व्यक्त गरेकी हुन् । प्रधानसेनापतिले नेपाली सेनाको भान्सा विद्युतीकरणतर्फ अगाडि बढेको र आगामी दिनमा त्यसलाई पूर्णरूपमा लागू गर्दै लैजाने विश्वास दिलाए । उनले भने, 'हामीले खाना पकाउनका लागि ठूलो स्टिमरको प्रयोग गर्न सुरु गरेका छौं, आगामी दिनमा सबै ब्यारेकमा विद्युतीय चुल्हो प्रयोग गर्दै लैजाने छौं ।'
महारथी शर्माले नेपाली सेनाले प्रयोग गर्दै आएको पेट्रोलियम सवारी साधनलाई विद्युतीयमा ‘कन्भर्ट’ गर्न सुरु गरिसकेको जानकारी दिँदै आफूले विद्युतीय गाडी नै चढ्ने र आगामी दिनमा खरिद गर्ने सवारीसाधन पनि विद्युतीय नै हुने बताए ।
वातारण संरक्षण र देशको अर्थतन्त्रमा टेवा दिन विद्युत् खपत बढाउनुपर्ने आफ्नो धारणा रहेको बताउँदै उनले नीतिगत रूपमै सरकारले निर्णय गरे नेपाली सेनाले पनि जलविद्युत् विकासमा लगानी गर्न सक्ने धारणा राखे ।
छलफलमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थिति थियो । त्यसअघि ऊर्जामन्त्रीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग विद्युत् खपतका विषयमा विभिन्न चरणमा छलफल गरेकी थिइन् ।