काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएसँगै सेयर बजारमा एकाएक उछाल आएको छ । केही समयअघि वैदेशिक व्यापारमा लागेको ‘ब्रेक’ले वित्तीय बजारमा तरलता संकट हल हुने अपेक्षा र स्थानीय सरकारका लागि चुनाव हुने पक्का भएपछि लगानीकर्तामा उत्साह छाएको हो ।
स्थानीय निर्वाचन हुने नहुने र सर्न सक्ने आशंकाबीच आइतबारबाट मनोनयन सुरु भएपछि लगानीकर्ता आक्रामक रुपले उत्साही देखिएका हुन् । यद्यपि, लगानीकर्ताको उत्साह अझै पनि कमजोर आकिएका कम्पनीहरुमै देखिएको छ । खासगरी, वित्त कम्पनी र जलविद्युत् समूहमा उछाल छाएको छ । सर्किट लागेका १० कम्पनीमध्ये ६ जलविद्युत् समूहका छन् भने ४ वटा फाइनान्स कम्पनी छन् ।
आइतबारको उछाल २७ दिन कारोबार यताकै उच्च हो । गत फागुन २९ गते पनि फागुन २६ को तुलनामा १०१ अंकले बजार बढेर २६६७.९७ अंकमा बजार पुगेको थियो । त्यसपछि १ दिन बढेर २६८३ सम्म चढेको सूचक त्यससता अधिक घट्ने र कम बढ्ने गर्दै गत बिहीबार न्यून बिन्दु २२८६.६ लाई पच्छ्याएको थियो । यद्यपि, बिहीबार २३३३.९३ अंकसम्म चढे पनि बजार सूचक भने २३२५.४५ मा अडिएको थियो । आइतबार भने बजार प्रिओपन सेसन देखिनै बढ्न थालेको हो ।
बढ्दो बजारमा १०५ अंकसम्म बढे पनि बन्द हुँदा ९५.४६ अंकले बढेर २४२०.९१ अंकमा रोकिएको छ । आइतबार कारोबार रकममा पनि गत साताको तुलनामा वृद्धि भएको छ । ११ कारोबार दिन यताकै उच्च हो । आइतबार २ अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । गत चैत २२ गते २ अर्ब ६३ करोड रुपैयाँको सेयर किनबेच हुँदा गत मंगलबार १ अर्ब २८ करोडको मात्रै कारोबार भएको थियो ।
उच्च कारोबार देखिनुमा सानिमा बैंकको संस्थापक सेयर प्रमुख कारण बनेको छ । २२ रुपैयाँ बराबरको सानिमाको संस्थापक सेयर किनबेच हुँदा त्यसलाई पच्छ्याउने शिवम् सिमेन्टको भने ११ करोड ७६ लाख रुपैयाँ बराबरको मात्रै सेयर खरिदबिक्री भएको छ ।
कम घट्ने र बढी बढ्ने प्रवृत्ति देखाएको आइतबारको नेप्से सूचक प्रवृत्तिले अन्तिम समयमा घटेर बन्द हुँदा सोमबार बजार खच्कियो भने अन्यथा नमान्दा हुन्छ । अर्थतन्त्रका मूल सूचकहरुमा सुधारको कुनै गुन्जायस नदेखिएका बेला बजारमा आएको छलाङ टिकाउनपूर्ण हुनेमा भने सन्देह छ । यद्यपि, यस अघिको २०७८ मंसिर २७ काे २२५९ न्यून बिन्दुभन्दा माथिबाटै बजार उठ्न खोजेकाले केही दिनको बजार प्रवृत्ति विश्लेषण गरेर मात्रै बजार कता जान्छ भन्ने आकलन गर्न सकिन्छ ।
बजार सूचक बढेसँगै १९३ कम्पनीहरुको सेयर मूल्य बढ्दा एउटा कम्पनी नेष्डो लघुवित्तको सेयर मूल्य २.८५ अंकले घटेको छ । लामो समय पछि १० वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
चुनावी माहोल, वैशाख लागेसँगै चालू वर्षको अन्तिम त्रैमासका पुँजीगत खर्च वृद्धि हुने अपेक्षा, वैदेशिक व्यापारमा गरिएको कडाइले विदेशी मुद्रा विनिमय सञ्चिति बढ्ने आशा, सरकारको खर्च कटौतीको प्रयास, तरलता समस्या समाधान हुने आकलनले बजार केही समय उचालिने सम्भावना छ । २६ कारोबार दिनमा करिब ४ सय अंकले बजार घटेको परिपूर्तिका लागि पनि केही समय बजार उभो लाग्ने सम्भावना रहन्छ ।