काठमाडाैं । आगामी जेठ २ गते अर्थात् बुद्ध जयन्तीका दिन जजिरा एयरलाइन्सको जहाजले कुवेत–भैरहवा सीधा जोड्ने भएको छ । उक्त उडानका लागि आवश्यक गृहकार्य तयारी भइरहेको छ ।
बिहीबारदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्स पहिलो व्यावसायिक उडान भर्ने विदेशी एयरलाइन्स हुने भएको छ । आगमी जेठ २ गते बुद्ध जयन्तीका दिन उक्त एयरलाइन्सले कुवेतबाट सीधै गौतमबुद्ध विमानस्थलसम्म उडान भर्ने अनुमति पाएको छ ।
यसैगरी उक्त एयरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन दिन उडान गर्ने अनुमति लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीले जानकारी दिए ।
प्राधिकरणले गौतमबुद्ध विमानस्थलबाट जेठ २ गते औपचारिकरूपमा अन्तर्राष्ट्रिय उडान थाल्ने कार्यक्रम तय गरेको छ । सोही दिनदेखि व्यावसायिक उडान गर्न प्राधिकरणमा हालसम्म जजिरा एयरले मात्र अनुमति लिएको बताइएको छ । यसैगरी अन्य वायुसेवा कम्पनीले पनि उडानका लागि चासो देखाइरहेको महानिर्देशक अधिकारीले बताए ।
उनका अनुसार भैरहवाबाट जजिराले पहिलो अन्तर्राष्ट्रिय उडानका लागि अनुमति पाएको छ, अन्य एयरलाइन्सले पनि उडानका लागि चासो देखाइरहेका छन् ।
भैरहवाबाट कुवेत जानका लागि नेपालबाट ३० जनाले टिकट बुकिङ गरिसकेका छन् । प्राधिकरणले सो विमानस्थलबाट उडान गर्ने एयरलाइन्सलाई विशेष छुट दिने घोषणासमेत गरेको छ । त्यसका लागि प्राधिकरणले समितिसमेत बनाइसकेको छ । समितिले रिपोर्ट बुझाएपछि कतिसम्म छुट दिने र कहिलेसम्म दिने भन्ने विषयको निर्णयमा पुगिने महानिर्देशक अधिकारीको भनाइ छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि विधिवत रूपमा सञ्चालनमा आएको छ । विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको ३ हजार ५०० मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको छ ।
सो विमानस्थलमा न्यारोबडी र वाइडबडी दुवै जहाजले उडान र अवतरण गर्नेछन् । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान सम्पन्न भइसकेको छ ।
सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुआतमा निर्माण थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले रोकिएको थियो । पछिल्लोपटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको हो ।
विमानस्थल चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एसियाली विकास बैंक (एडिबी) को सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ रुपैयाँ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ । कुल ४५ मिटर चौडाइ र ३ हजार ५०० मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घट्ने विश्वास गरिएको छ ।