बिमा समितिको अहिलेको नेतृत्वले बिमा बजारलाई व्यवस्थित बनाउन भरमग्दुर प्रयास गरेको छ । यो क्षेत्रमा कैयौं विकृतिहरू थिए । त्यसलाई एकपछि अर्को गर्दै निराकरण गरेको महसुस हामीले गरेका छौं । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले एकल बिमा शुल्कमार्फत टार्गेट पूरा गरेर कम्पनीलाई खोक्रो पार्ने प्रवृत्तिलाई कमी गर्न सरेन्डर अवधि र कर्जा पाउने अवधि बढाइदिनुभयो ।
त्यस्तै टार्गेट पूरा गर्न कम्पनीको खातामै पैसा नआई ब्याक डेटमा पोलिसी खरिद गर्ने गलत अभ्यास थियो । समितिले अहिले खातामा पैसा आएपछि मात्रै पोलिसी खरिद गर्न निर्देशन दिएको छ । यसले कम्पनीभित्र देखिएको विकृति रोकिएको छ ।
बिमा कम्पनीहरूले वर्षाैंसम्म प्रमुख कार्यकारी अधिकृत बिनानै कम्पनी सञ्चालन गर्दै आउने गरेका थिए । समितिले पछिल्लो समय बिमा कम्पनीहरूलाई तीन महिनाभन्दा लामो समय प्रमुख कार्यकारी अधिकृतविहीन राख्न नपाउने व्यवस्था गरिदिएको छ । यसले कम्पनीको सुशासनमा थप टेवा पुर्याएको छ ।
बिमा व्यवसायको प्रवद्र्धन गर्ने भन्दै बिमा समितिले कम्पनीहरू सेवा शुल्कको रूपमा अर्बौं रुपैयाँ उठाउँदै आएको थियो ।
तर, समितिले बिमाको जनचेतनामूलक कार्यक्रमका लागि एक रुपैयाँ पनि खर्च गर्ने गरेको थिएन । तर, अध्यक्ष सिलवालले यस आर्थिक वर्षमा बिमा समितिले १ सयभन्दा बढी स्थानीय निकायमा बिमासम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गर्ने लक्ष्य लिनुभएको छ । यसैअन्तर्गत हालसम्म समितिले ६० वटाभन्दा बढी स्थानीय निकायका जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागितामा बिमासम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिसकेको छ ।
अभिकर्ताको ठूलो सञ्जालको विरोधका बाबजुद पनि बिमा समितिले संस्थागत अभिकर्ताको निर्देशिका जारी गरेको छ । यसले अभिकर्ताको सञ्जाललाई संस्थागत रूपमा विकास गर्न मद्दत पुर्याउने देखिन्छ ।-क्यापिटल बिजनेस म्यागजिनबाट ।
-पाैडेल युनाइटेड इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत हुन् ।