काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बिक्री खुला भएको छ । कम्पनीले आजदेखि आईपीओ निष्कासन तथा बिक्री गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्रभित्र पर्ने लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नम्बर ८ र ९ का स्थानीय बासिन्दाहरूका लागि ७ लाख कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको ३ लाख कित्ता सेयर लमजुङ जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरूका स्थानिय बासिन्दाहरूका लागि आईपीओ बिक्रीमा ल्याएको हो ।
निष्कासन बन्द छिटोमा वैशाख २५ गते हुनेछ भने ढिलोमा जेठ ९ गते हुनेछ । आईपीओमा सानिमा बैंकको बिरौटा तथा पोखरा शाखा कार्यालय, सिभिल बैंकको मालिङ शाखा कार्यालय, कामना सेवा विकास बैंकको कास्की तथा बेंसीसहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेंसीसहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ ।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस आईएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडे छ । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।