काठमाडौं । मेलम्चीको पानी आइतबारदेखि राजधानीमा वितरण हुने भएको छ । दोस्रो पटक काठमाडौं उपत्यकबासीको घरमा आइतबार बिहान ११ बजेसम्म मेलम्चीको पानी पुग्ने भएको हो । वैशाख ५ गते राती सुन्दरीजल आइपुगेको पानी शुक्रबार पोखरी भरिएपछि आइतबार बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा पुग्ने आयोजनाका सिनियर डिभिजन इन्जिनियर (सीडीई) पदम कुँबरले बताए ।
सीडीई कुँवरका अनुसार हाल पानी वितरण गर्दा आउने समस्या समधान गर्न सुन्दरीजलमा (ट्रिटमेन्ट) परीक्षण भइरहको छ । शनिबारसम्म ट्रिटमेन्ट परीक्षण सकेर आइतबार बिहानै सर्वसाधारणको धारामा पानी पठाइने कुँवरले जानकारी दिए ।
नयाँ पाइपबाट वितरण हुने क्षेत्रमा नक्साल, कमलपोखरी, दरबारमार्ग, नयाँ सडक, डिल्लीबजार, गौशाला, अनामनगर, तिलगङ्गा, चक्रपथ, बबरमहल, कोटेश्वर र नरेफाँटलगायतका स्थान छन । हाल ३ करोड ८० लाख लिटर पानी नयाँ पाइपबाट र १० करोड लिटर पानी पुरानो पाइपबाट वितरण गरिने भएको छ ।
निर्देशनालयले सुन्दरीजलको प्रशोधन केन्द्रबाट पानी उपभोक्ताको घरघरसम्म पुगाउन आवश्यक संरचना निर्माण गरिसकेको छ । ७७ किलोमिटर लम्बाइको बल्ब डिस्ट्रिब्युसन सिस्टममार्फत पानी १० ठाउँका ट्याङ्कीमा पुग्छ । ती ट्याङ्कीमार्फत नै पानी घरघरमा पुग्नेगरी संरचना निर्माण गरिएको हो ।
वितरण पाइपमार्फत उपभोक्ताका घरमा पानी जानेछ । यो पानी चक्रपथभित्र सबै ठाउँमा वितरण हुने आयोजनाले जनाएको छ । पहिलो चरणमा नै पानी मध्यपुर र कीर्तिपुरमा समेत वितरण हुने बताइएको छ । कपनमा पनि पानी वितरणका लागि पाइप निर्माण अघि बढाइएको भए पनि पूरा सकेको छैन ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले ११ गतेदेखि धारामा पानी वितरण गर्न निर्देशन दिएसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आवश्यक तयारी अगाडि बढाएको छ । अस्थायी रुपमा पुनर्निर्माण गरेपछि चैत २९ गते मेलम्चीको पानी काठमाडौं ल्याउन सुरुङमा हालिएको थियो ।
सुरुङमा पानी हालेको ७ दिनपछि अर्थात् वैशाख ५ गते राती मेलम्चीको पानी सुन्दरीजल आएसँगै ६ गते अनुगमनमा पुगेका मन्त्री चौधरीले १० गतेसम्म आवशयक तयारी गरेर ११ गतेदेखि पानी वितरण गर्ने गरी काम गर्न निर्देशन दिएका थिए ।
२७ करोड लिटर पानी वितरण हुने
आइतबारदेखि काठमाडौं उपत्यकामा २७ करोड लिटर पानी वितरण हुने केयूकेएलका प्रवक्ता प्रकाश राई बताउँछन् । हाल केयूकेएलले वितरण गरिरहेको १० करोड लिटर र मेलम्चीबाट आएको १७ करोड लिटर गरेर २७ करोड लिटर पानी काठमाडौं वितरण हुने उनको भनाइ छ । ‘परीक्षणको लागि पठाए पनि पानी जाने धारामा नै हो त्यसैले सबै पानीलाई वितरण भन्न मिल्छ’ उनले भने ।
४१० किलोमिटर पाइपको परीक्षण
मन्त्रीको निर्देशनअनुसार केयूकेएल र आयोजनाले आवश्यक तयारी गरिरहेका छन् । त्यस्तै पानी वितरणको लागि विच्छ्याइएको पाइपको परीक्षण गर्ने जिम्मेवारी लिएको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) को हो । १ हजार १० किलोमिटर क्षेत्रमा बिच्छ्याइएको नयाँ पाइप मध्ये निर्देशनालयले हालसम्म ४१० किलोमिटर क्षेत्रमा मात्रै परीक्षण गरेको छ ।
विगतमा ट्याङकरबाट पानी हालेर विच्छ्याइएका पाइपको परीक्षण गरे पनि अब मेलम्चीको पानीले नै परीक्षण गर्ने दिर्नेशनालयका उपनिर्देशक चन्द्रकुमार श्रेष्ठ बताउँछन् । ‘पहिला ट्याङ्करको पानी प्रयोग गरेर ४१० किलोमिटर पाइप परीक्षण गरेका छौं, बाँकी ६०० किलोमिटरको लागि तयारी भइरहेको छ, पानी नहुँदा परीक्षण धेरै नभएको हो’ उपनिर्देशक श्रेष्ठले भने ।
यसरी हुन्छ १७ करोड लिटर पानीको व्यवस्थापन
मेलम्चीबाट काठमाडौंमा १७ करोड लिटर पानी आउँछ । तर, सबै पानी सर्वसाधरणको धारामा पुग्दैन । १७ करोड लिटरमध्ये ३ करोड २० लाख लिटर पानी निर्देशनालयले पाइप परीक्षणको लागि प्रयोग गर्ने जनाएको छ । त्यसबाहेक ४१० किमी क्षेत्रको नयाँ बिच्छ्याइएको पाइपमा ३ करोड ८ लिटर वितरण हुनेछ । बाँकी रहेको १० करोड लिटर पानी भने केयूकेएलले हाल वितरण गर्दै आएको अर्थात् पुरानो पाइपबाट वितरण हुने श्रेष्ठको भनाइ छ ।
तर, पीआईडीका उपनिर्देशक श्रेष्ठले भनेअनुसार नयाँ पाइपबाट पानी वितरण हुन सहज नभएको केयूकेएलका प्रवक्ता राईको तर्क छ । प्रवक्ता राई भन्छन्, ‘४१० किलोमिटर नयाँ पाइप बिच्छ्याइएको ठाउँमा पनि मिटर राख्ने काम भइरहेकाले नयाँ पाइपबाट पूर्णरुपमा वितरण हुन्छ भन्न सकिदैन, परीक्षणको रुपमा वितरण भएको मान्न सकिन्छ । धेरैजसो पानी पुरानै पाइपबाट वितरण हुन्छ ।’
पाइपमा ड्यामेजको समस्या, १ वर्षमा परीक्षण सकिने
निर्देशनालयले परीक्षण गरेको पाइपमध्ये केही ठाउँमा ड्यामेज भएको उपनिर्देशक श्रेष्ठ बताउँछन् । क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने, ‘अरु समस्या छैन, केही स्थानमा ड्यामेज भएको पाइएको छ । पाइप बिच्छ्याएर धेरै समय पानी नहालेको कारण ड्यामेज भएको हुनसक्छ ।’ नयाँ पाइप बिच्छ्याएको मध्ये बाँकी ६०० किलोमिटर क्षेत्र परीक्षण गर्न १ वर्ष लाग्ने निर्देशनालयले जनाएको छ ।
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक बासुदेव पौडेल भने सुरुङमा तत्कालको लागि प्रतिसेकेण्ड ३०० लिटर पानी हालिएको बताउँछन् । ‘एकै पटक धेरै पानी सुरुङमा हाल्न मिल्दैन, क्रमशः पानीको मात्र बढाउँदै लानुपर्ने हुन्छ । अहिले ३०० लिटर मात्रै हालेका छौं’ पौडेलले भने ।
मन्त्री चौधरीले समानुपातिक तरिकाले पानी वितरण गर्न केयूकेएल, मेलम्ची खानेपानी आयोजना र पीआईडीका प्रतिनिधिलाई निर्देशन दिएका छन् । ‘कतै कम कतै बढी वितरण नहुने र चुहावट पनि हुन नदिने गरी काम गर्नु, आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको मन्त्रीले भन्नु भएको छ’ प्रेस संयोजक लिला खनालले भने । ५ गते राती पानी आएलगतै ६ गते सुन्दरीजल पुगेर मन्त्री चौधरीले उक्त निर्देशन दिएका थिए ।
गत असार र साउनमा मेलम्ची खोलामा गएको बाढीले खानेपानी आयोजनामा क्षति पुगेपछि अस्थायी पुनर्निर्माण गरेर काठमाडौंमा पानी ल्याइएको हो । माघको दोस्रो साताबाट सुरु अस्थायी पुर्ननिर्माणको काम भएको मेलम्चीमा चैत २९ गते सिन्धुपाल्चोकस्थित अम्बाथानको सुरुङबाट काठमाडौं पठाउनको लागि पानी हालिएको थियो ।
सुरुङमा पानी हालेको ५ दिनपछि सुन्दरीजलमा पानी आइपुगेको थियो । सुरुङ नभरिएसम्म पानी वितरण गर्न नमिल्ने भएपछि पानी जम्मा गर्न सुरुङ थुनिएको थियो । शुक्रबार दिउँसोबाट सुरुङ भरिएको आयोजनाले जनाएको छ ।
निर्देशनालयले पानी वितरणका लागि जम्मा १० ट्याङ्की निर्माणको जिम्मेवारी लिएको थियो । तिमध्ये अहिलेसम्म नौ निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन । भक्तपुरको कटुञ्जेमा भने जग्गा विवादका कारण केही ढिला मात्रै सम्पन्न भएको छ ।
हाल सो ट्याङ्की सम्पन्न भएर परीक्षणका क्रममा रहेको छ । निर्देशनालयले निर्माण गरेका ट्याङ्की काठमाडौँमा लाजिम्पाट, बाँसबारी, पानीपोखरी, बालाजु, महाँकाल, ललितपुरको खुमलटार र भक्तपुरको कटुञ्जेलगायतका स्थानमा छन् ।