काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपालको सञ्चालन आम्दानी ३२ प्रतिशतले बढेको छ । गत वर्ष सन् २०२१ मा कम्पनीले १० अर्ब ६९ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो वर्ष सन् २०२० मा डाबरले ८ अर्ब ९ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष उद्योग २ अर्ब ५९ करोड रुपैयाँ सञ्चालन आम्दानी बढाउन सफल भएको छ । डाबरले २०२१ मा ११ अर्ब ३७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । ६ महिनाको अवधिमा डाबरले ७ अर्ब रुपैयाँको व्यापार गरिसकेको छ, जुन अघिल्लो वर्षको तुलनामा २० प्रतिशतको वृद्धि हो ।
६ महिनाको आँकडा हेर्दा यो वर्ष डाबरको व्यापार १२ अर्ब रुपैयाँ बढी हुने देखिएको छ । माग बढेपछि बिक्रीमा आएको सुधारले आम्दानी बढेको डाबरले जनाएको छ । कोरोना महामारीले बिक्रीमा २२ प्रतिशतले कमी आए पनि अहिले ‘बाउन्स ब्याक’ भएको छ ।
सरकारले चिनी आयातमा निरुत्साहित गर्न ४० प्रतिशतसम्म भन्सारदर लगाएपछि यसको नाफामा असर परेको डाबरले जनाएको छ । यद्यपि सरकारले इनर्जी ड्रिंक र सिन्थेटिक ड्रिंक आयातमा लगाएको प्रतिबन्धले आन्तरिक बजार बढाउन सहयोग पुगेको डाबरको भनाइ छ ।
डाबर नेपाल डाबर इन्डिया लिमिटेडको सहायक कम्पनी हो । यसले फ्रुट, जुस, बेभरेज, च्यवनप्रास, ग्लुकोज, टुथपेस्ट, हेयर आयल, हाजमोला र महलगायत वस्तु उत्पादन तथा बिक्रीवितरण गर्छ ।
कम्पनीले आफ्ना उत्पादन विदेशमा समेत निकासी गर्दै आइरहेको छ । कम्पनीको कुल आम्दानीको ७० प्रतिशत हिस्सा फुड सेग्मेन्टको छ । पर्सनल केयर, हेल्थकेयर र डाइजेस्टिभबाट प्राप्त हुने आम्दानी कम छ । ६० प्रतिशत आम्दानी निकासीबाट प्राप्त हुने गरेको छ । डाबरको उत्पादन निकासी ३१ प्रतिशतले बढेर ६ अर्ब ८५ करोड २० लाख रुपैयाँ पुगेको छ ।
देशको कुल निकासी व्यापारमा डाबरको योगदान ५.३ प्रतिशत पुगेको छ । डाबर बर्सेनि धेरै कर तिर्ने कम्पनीको रुपमा सरकारबाट सम्मानित हुँदै आएको छ । डाबरले उत्पादन थालेको ३ दशक पूरा भएको छ । यसबीचमा कम्पनीका ३०० वितरक र १ लाख खुद्रा प्वाइन्टहरु रहेका छन् ।
कम्पनीमा डाबर इन्टरनेसनल लिमिटेडको ९७.५ प्रतिशत स्वामित्व रहेको छ । बाँकी नेपाली लगानीकर्ता रुक्मशमशेर राणा परिवारको छ । यद्यपि राणाको निधन भइसकेको छ । यसअघि उनी कम्पनीका अध्यक्ष थिए ।
यो कम्पनी डाबर इन्डिया लिमिटेडको पूर्ण स्वामित्वको कम्पनी हो । गत वर्ष डाबर इन्डियाले ९५ अर्ब भारुको व्यापार गरेको थियो । १३६ वर्ष पुरानो डाबर विश्वका १०० मुलुकमा पुगेको छ । सन् १८८४ मा एसके बर्मनले डाबर इन्डियाको स्थापना गरेका हुन् ।
डाबरले जुसको उत्पादन बढाउने भन्दै बैंकबाट ६ अर्ब ६० करोड रुपैयाँ ऋण लिन लागेको छ । कम्पनीले सो ऋण केयर नेपाल लिमिटेडबाट रेटिङ (साख निर्धारण) गरेको छ । केयर नेपालले केयरएनपी ए वान प्लस रेटिङ दिएको छ ।
लगानी बोर्डले डाबरको ९ अर्ब ६८ करोड रुपैयाँ लगानी स्वीकृत गरिसकेको छ । डाबर नेपालले उत्पादन बढाउनका लागि लगानी थप्न लागेको हो ।
२०४६ को राजनीति परिवर्तलगत्तै स्थापना भएको डाबरले नेपालमा सन् १९९२ देखि दैनिक उपभोग्य स्वास्थ्यवर्धक वस्तुको उत्पादन गरी नेपालमा बिक्री वितरण गर्नुका साथै छिमेकी भारतमा समेत निर्यात गर्दै आएको छ । डाबरको चुक्ता पुँजी ७ करोड ९८ लाख रुपैयाँ छ भने जगेडा कोषमा ६ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ छ ।