काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालक स्वीकृतिका लागि दुई जनाको नाम निर्वाचन आयोगमा पठाए पनि निर्वाचन आचारसंहिताका कारण आयोगले सहमति दिएको छैन ।
सरकारले डा. शंकरप्रसाद आचार्य र दिलीप ढुंगानाको नाम स्वीकृतिका लागि मंगलबार निर्वाचन आयोगमा पठाएको थियो ।
आचार्य राष्ट्र बैंकबाट अवकाशप्राप्त पूर्वकार्यकारी निर्देशक हुन् भने ढुंगाना बैंक तथा वित्तीय संस्थाको सञ्चालक भइसकेका व्यक्ति हुन् ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले आचारसंहिता लगाएको छ । कुनै व्यक्तिको नियुक्ति गर्नै परेमा सरकारले निर्वाचन आयोगबाट स्वीकृति लिनुपर्ने हुन्छ । सोही कारण सरकारले स्वीकृतिका लागि आयोगमा पत्र पठाएको हो ।
तर, अति जरुरी नियुक्ति नभएको र काम प्रभावित नहुने भन्दै निर्वाचन आयोगले तत्काललाई सहमति नदिने जनाएको हो ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिले तत्काल नियुक्त नै गर्नुपर्ने कुनै बाध्यतात्मक अवस्था नरहेको बताए । मुलुक निर्वाचनमा होमिएको बेला अहिले अति जरुरी नियुक्तिलाई मात्र सहमति दिइएकाले राष्ट्र बैंकको नियुक्तका लागि छलफल भइरहेको बताए ।
आयोगको स्वीकृतिपछि मन्त्रिपरिषद्को बैठकले आचार्य र ढुंगानालाई राष्ट्र बैंक सञ्चालक समितिमा नियुक्त गर्नुपर्नेछ ।
राष्ट्र बैंक सञ्चालकबाट गत शुक्रबार श्रीराम पौडेल र रामजी रेग्मीको कार्यकाल सकिएको थियो ।
आयोगको कानुन शाखाका यज्ञ भट्टराईले निर्वाचन आचार संहिता सकिएपछि मात्र नियुक्त हुने सम्भावना बढी रहेको र माथिबाट पनि त्यस्तै आदेश आएको बताए ।