काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपालको पूर्वाधार विकासमा भारतको ठूलो सहयोग आवश्यक रहेको बताएकी छन् । पूर्वाधार विकासमा नेपाल अहिले पनि पछाडि रहेकाले पछिल्ला वर्षहरुमा भारतले आधुनिक प्रविधिसहितको सडक, टनेल, पुल, सहरी एवं यातायात पूर्वाधारमा गरेको प्रगति नेपालका लागि अनुकरणीय रहेको बताइन् ।
निर्माण उपकरण उद्योगको दक्षिण एसियाकै सबैभन्दा ठूलो कार्यक्रम एक्सकोनको पूर्वावलोकन कार्यक्रममा मन्त्री झाँक्रीले एक्सकोनमा नेपालको सहभागिता महत्वपूर्ण हुने बताइन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल निर्माण व्यवसायी महासंघको सहकार्यमा भारतीय उद्योग परिसंघले सो कार्यक्रमको आयोजना गरेको हो ।
नेपालमा पूर्वाधारमा लगानीको ठूलो अवसर छ, प्रदर्शनीको माध्यममार्फत नेपालको पूर्वाधार विकासमा प्रविधि, लगानी आकर्षणका लागि सहयोग गर्न पनि मन्त्रीले आग्रह गरिन् । भारतले आफ्नो विकासका साथै नेपालको विकासमा पनि सहयोग गर्नुपर्नेमा उनांको सुझाव थियो ।
एक्सकोन, भारतीय उद्योग परिसंघद्वारा आयोजित दक्षिण एसियाको सबैभन्दा ठूलो निर्माण उपकरण र निर्माण प्रविधि व्यापार मेला हो । यसको ११ औं संस्करण भारतको बैंगलोर अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, बैंगलोरमा आगामी जेठ ३ देखि ७ गतेसम्म आयोजना हुँदैछ । सोही प्रदर्शनीका वारेमा जानकारी सहित नेपाललाई साे प्रदर्शनीको निम्तो दिन सो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले एक्सकोनबाट नेपालले पनि फाइदा उठाउने गरी सहकार्य हुनुपर्नेमा जोड दिँदै नेपाली निजी क्षेत्रले साे कार्यक्रममा भाग लिने बताए । उनले एक्सकोनबाट नेपालले भरपुर फाइदा लिने गरी सहभागी हुने विश्वास बताए ।
‘भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार हो । भारतले नेपाललाई तेस्रो मुलुकको व्यापारका लागि पारवहन सुविधा दिएको छ । भारतका सार्वजनिक र निजी दुवै क्षेत्रले नेपालमा लगानी गरेका छन् । अत्यन्त नजिकको छिमेकीको नाताले भारतलाई, नेपालको पूर्वाधार विकासमा अझ बढी सहयोग गर्न आवश्यक छ’, उनले भने ।
भारतीय राजदूूतावासका प्रथम सचिव प्रियदर्शनी आरले नेपालको हरेक विकास प्रयासमा भारतले सहयोग गर्ने बताउंदै एक्सकोन प्रदर्शनीमा परिणामदायी रुपमा सहभागिताका लागि आग्रह गरिन् ।
कार्यक्रममा एक्सकोन ३ लाख वर्ग मिटर डिस्प्ले क्षेत्रफलमा फैलिनेछ र अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटाली, यूएई, दक्षिण कोरिया, सिंगापुर र श्रीलंका जस्ता देशहरूसहित भारत र विदेशबाट १ हजार भन्दा बढी प्रदर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । ५ दिने प्रदर्शनीमा विश्वभरबाट ४० हजारभन्दा बढी व्यापारिक आगन्तुकहरुले भाग लिने जनाइएको छ ।
भारतीय निर्माण उपकरण उत्पादक संघका पूर्वअध्यक्ष अरविन्द के गर्गले भने, ‘भारतको सबैभन्दा नजिकको छिमेकी भएकाले, भारतबाट निर्माण उपकरणहरू सोर्सिङमा नेपाललाई रणनीतिक फाइदा छ । जसले नेपालका विभिन्न पूर्वाधार आवश्यकताहरूलाई प्रतिस्पर्धी मूल्यमा सस्तो अफरमार्केट सेवाको साथ पूरा गर्न मद्दत गर्ने र यो मेला नेपालका लागि अझ बढी लाभदायक हुने विश्वास दिलाए ।