काठमाडौं । विद्युतीय गाडी बीवाईडी गाडीको नेपालको आधिकारिक वितरक सिमेक्स इन्क प्रालिले भित्राएको ई–सिक्सको बजार बढ्दै गएको छ । सिमेक्स इन्क प्रालिले स्पार्क ग्रुपअन्तर्गतको सेल्फ ड्राइभ प्रालिलाई ५० वटा ई–सिक्स विद्युतीय गाडीहरु बिक्रीका लागि सम्झौता गरेको छ ।
सिमेक्स इन्क प्रालिका सीईओ शाहिल श्रेष्ठका अनुसार सिमेक्सले फ्लिट अपरेसनका लागि दक्षिण एसियामा सबैभन्दा ठूलो मात्रामा विद्युतीय गाडीहरु प्रदान गरेको हो ।
काठमाडौंमा वातावरणमा प्रदूषण बढिरहेको अवस्था उल्लेख गर्दै बीवाईडीका विद्युतीय गाडीको प्रयोगले प्रदूषणरहित वातावरण निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्ने सीईओ श्रेष्ठको भनाइ छ । उनले बजारमा ल्याइएका दुई गाडीमध्ये एक पटक फुल चार्ज गरे एउटाले ५२२ र अर्कोले ४०० किलोमिटर गुड्न सक्ने बताएका छन् ।
बीवाईडीका गाडीमा संसारको सबैभन्दा सेफ ब्याट्री प्रयोग गरिएको उनको दाबी छ । श्रेष्ठले स्पार्क अटो केयर रहेको स्थानमा नै बीवाईडीको स्टेट अफ आर्ट सर्भिस एण्ड ट्रेनिङ सेन्टर पनि सञ्चालनमा ल्याउने योजना रहेको बताएका छन् ।
उक्त गाडीमा आफैंले उत्पादन गर्ने बीवाईडी ब्लेड ब्याट्री प्रयोग गर्ने गरेको र रिप्लेसमेन्ट ग्यारेन्टी ८ वर्षको हुने बताइएको छ । उनले भने,‘त्यसपछि पनि ब्याट्री क्यापेसिटी ६० प्रतिशत रहन्छ ।’
गाडी फास्ट चार्जमा ४५ मिनेटमा फुल चार्ज हुन्छ तर, घरमा चार्ज गर्दा ६ देखि सात घण्टा लाग्ने सेल्फ ड्राइभका सीईओ रोशन पोखरेलको भनाइ छ ।
पहिलो चरणमा ‘सेल्फ ड्राइभ’को अवधारणाअन्तर्गत बीवाईडिका विद्युतीय गाडीहरु प्रिमियम रेञ्जमा ल्याइएको स्पार्क अटो केयरले बताएको छ । नेपालमा रहेका अन्य विद्युतीय गाडीको तुलनामा सबै हिसाबमा बीवाईडी का गाडी उत्तम रहेको सेल्फ ड्राइभका सीईओ पोखरेलको दाबी छ ।
‘क्लियरेन्स र कम्फरटेवलको हिसाबले यी गाडीहरु अझ राम्रा र उत्कृष्ट छन्, अहिले नेपालमा रहेका विद्युतीय गाडीको सेग्मेन्टमा सबैभन्दा राम्रो छ’ पोखरेलले भने ।
कम्पनीका अनुसार नेपालमा यो नयाँ प्रयोग हो । तत्काल ५० वटा गाडी बजारमा ल्याएको कम्पनीले विस्तारै सेवा बढाउँदै जाने जनाएको छ ।
कम्पनीले ग्राहकका लागि एप्लिकेसन र अनलाइनको माध्यमबाट सम्र्पक गर्न सकिने पनि जनाएको छ । यस्तै, सन् २०२५ सम्म काठमाडौंमा शतप्रतिशत विद्युती गाडीको प्रयोग देख्न सकिने अवस्थामा पुर्याउने पनि कम्पनीले लक्ष्य राखेको छ । बीवाईडीको ई–६ मोडेलको कारले यात्रुहरुका लागि आवश्यक सबै मापदण्ड पूरा गर्ने विश्वास कम्पनीको छ ।