काठमाडौं । सरकारले भन्सारमा बिषादी परीक्षण प्रयोगशाला तथा उपकरण नराखी तरकारी तथा फलफूलजन्य वस्तुको भन्सारमा कडाइ गरेको छ । भारतबाट आयात हुने तरकारी तथा फलफूलको बिषादी परीक्षण गर्न भन्सारमा न कुनै प्रयोगशाला छ न त उपकरण नै । तर, सरकारले व्यापार घाटा कम गर्न र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, अहिले भन्सारमा रहेका क्वारेन्टाइनले बिषादी परीक्षण गर्ने क्षमता राख्दैनन् । बिषादी जाँच्ने उपकरणको व्यवस्थापन नहुँदा अल्पकालीन रुपमा बजारमा वस्तुको मूल्यमा असर पर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । ‘बिषादी जाँच गरेर मात्रै भन्सार पास दिने निर्णय सरकारले गर्यो । तर, भन्सारमा बिषादी परीक्षण गर्ने मेसिन छैनन् । जाँच गर्न केन्द्रमै ल्याउने अवस्था छ’ उनले भने, ‘यसले तत्काल तरकारी र फलफुलजन्य वस्तुमा महङ्गी बढ्ने देखिन्छ ।’
उनले भन्सार दर नबढाइकन (नन ट्यारिफ मिजर) मार्फत बिषादी परीक्षण गरेर आयात हुने बताए । स्वदेशमा मनसुन भर्खरै सुरु भएकाले तरकारीको भाउ केही मात्रा बढ्न सक्ने भए पनि तुलनात्मक रुपमा कम उत्पादन हुने फलफूलको मूल्य भने अधिकतम बढ्ने बताए । ‘स्वदेशी उत्पादनले मात्रै माग सम्बोधन हुने अवस्था छैन ।
तरकारी तथा फलफूल बिषादीयुक्त र गुणस्तरीहीन नहोस् भनेर भन्सार दर नबढाइकन(नन ट्यारिफ मिजर) र परीक्षण प्रमाणपत्रका आधारमा भन्सार पास हुने व्यवस्था लागू भएको छ । यता, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आन्तरिक रुपमा बिषादी जाँच गर्ने व्यवस्था मिलाउने जनाएको छ । आइतबार कृषि मन्त्रालय, खाद्य विभाग र वाणिज्य विभागका पदाधिकारी सहितको छलफलमा बिषादी जाँच गर्ने उपकरण तथा मेसिन खरिद गरेर आयातमा कडाइ गर्ने निर्णय समेत भएको छलफलमा सहभागी एक अधिकारीले बताए ।
त्यसका लागि कृषि मन्त्रालयले तत्काल आन्तरिक व्यवस्थापन गर्ने र पछि उपकरण खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय समेत भएको ती अधिकारीले बताए । तरकारी तथा फलफूलको बिषादी जाँच गरेर मात्रै आयात हुँदा केही हदसम्म मुल्यमा घटबढ भएपछि दीर्घकालीन रुपमा असर नहुने मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए ।
आयात निरुत्साहित गर्दै स्वदेशी उत्पादन बढाउन भन्सारमा कडाइ गरिएको उनले बताए । उनले बिषादी परिक्षण गर्ने उपकरणको तत्काल समस्या भएपछि भबिष्यमा अन्य विकल्प खोजिने जानकारी दिए । अहिले विषादी जाँच गर्ने प्रयोगशाला तथा उपकरण नहुँदा भैरहवा भन्सारमा झन्डै ४० ओटा तरकारी तथा फलफुलका ट्रक रोकिएका छन् ।