काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा पहिलो व्यावसायिक उडान गर्ने विदेशी एयरलाइन्स हुने भएको छ । उसले कुवेतबाट भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलसम्म उडान गर्ने छ । उसले सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन उडान गर्ने अनुमति लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।
प्राधिकरणले गौतमबुद्धबाट जेठ २ गते औपचारिक रुपमा अन्तर्राष्ट्रिय उडान थाल्ने निश्चित गरेको छ । सोही दिनबाट व्यावसायिक उडान गर्न प्राधिकरणमा हालसम्म जजिरा एयरले मात्र अनुमति लिएको छ । यस्तै वायुसेवाहरुले चासो देखाइरहेको उनले बताए ।
प्राधिकरणले सो विमानस्थलबाट उडान गर्ने एयरलाइन्सहरुलाई विशेष छुट दिने घोषणासमेत गरेको छ । त्यसका लागि प्राधिकरणले समितिसमेत बनाइसकेको छ । समितिले रिपोर्ट बुझाएपछि कतिसम्म छुट दिने र कहिलेसम्म दिने भन्ने विषयको निर्णयमा पुगिने महानिर्देशक अधिकारीको भनाइ छ ।
‘जेठ २ गतेभन्दा अघिनै छुटको विषयमा जानकारी आउँछ, महानिर्देशक अधिकारीले क्यापिटल नेपालसँग भने समितिले गरेको अध्ययननै अन्तिम हुनेछ’ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुधबारदेखि विधिवत रूपमा सञ्चालनमा आएको छ । विमानस्थलको पुरानो १ हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको छ ।
सो विमानस्थलमा न्यारोबडी र वाइडबडी दुवै जहाजले उडान र अवतरण गर्नेछन् । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान सम्पन्न भइसकेको छ । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूआतमा निर्माण थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापर्बाहीले रोकिएको थियो ।
पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आएको हो ।
विमानस्थल चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।
कुल ४५ मिटर चौडाइ र ३ हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक रुपमा सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घट्ने विश्वास गरिएको छ ।