तनहुँ । व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र नगर विकास कोषबीच ऋण सम्झौतापछि निर्माणकार्य अघि बढेको छ ।
नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चिजबहादुर दरैबीच उक्त सम्झौता भएको हो ।
खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भएपछि सहलगानी आयोजनाअन्तर्गत मादीनदी लिफ्टी–खानेपानी आयोजनाका लागि तीन करोड ८१ लाख रुपैयाँको ऋण सम्झौता भएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भई बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल खानेपानी आपूर्तितर्फ १५ करोड २४ लाख ३६ हजार रुपैयाँको सम्झौता भएको हो । उपभोक्ताबाट संकलित १ करोड ३१ लाख खातामा जम्मा गरिसकेपछि सम्झौता भएको हो ।
व्यास नगरपालिका–४ स्थित मादी नदी किनारबाट व्यास नगरपालिका–१ को अमिली भञ्याङमासम्म करिब ५ किलोमिटर लामो दूरीबाट पानी ल्याउन लागिएको भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।
सम्झौतापश्चात् व्यास नगरपालिका–१ स्थित अमिलीभञ्याङमा प्रशोधन केन्द्रका लागि जग्गा सम्याउने काम सम्पन्न गरी सेडीमेन्टेन्सन, स्लो स्याण्ड र रिजर्भ ट्यांकी निर्माण भइरहेको छ । उक्त खानेपानी संस्थाले खानेपानी प्रशोधन केन्द्र निर्माण गर्नका लागि करिब ३६ आना जग्गा यसअघि नै खरिद गरिसकेको छ ।
नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाकोे ३० प्रतिशत लगानीमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।
विसं २०८० भदौभित्र आयोजना निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो । उक्त आयोजनाको ठेक्का पराजुली कन्स्ट्रक्सनले लिएको छ ।
विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट सुरुआत गरेको संस्थाले हालसम्म २ हजार ६०० बढी निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ ।
आयोजना निर्माणपछि व्यास नगरपालिकाको वडा नं १ का पूरै र वडा नं १२ का केही स्थानका बासिन्दाले पानी पाउने संस्थाका अध्यक्ष चिजबहादुर दरैले बताए ।