काठमाडौं । भोलि शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको छ ।
कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६/२०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।
यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । परीक्षाका लागि ती केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री जिल्ला–जिल्ला पठाइसकेको उनले जानकारी दिए।
एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिए । उनले परीक्षामा यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र १ लाख ५७ हजार ९ सय १४ र छात्रा २ लाख ५७ हजार ५३ जना गरी कुल ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् ।
दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी र प्राविधिक धारकातर्फका २ सय ९९ विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थी पनि एसईईमा सहभागी हुँदैछन् ।
परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी हुँदैछन् । एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुने भएका छन् ।
बोर्डले परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरेको छ ।
यस वर्षको एसईई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने भएको अध्यक्ष शर्माले जानकारी दिए ।
परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरेको छ । बोर्डले प्रदेशसँग समन्वय गर्ने र प्रदेशअनुसारका सबै जिल्लालाई प्रदेशले निर्देशन दिने तथा अनुगमन गर्ने गरी व्यवस्था गरिएको छ ।
प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्ताङ्क पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्ने उनले बताए । अध्यक्ष शर्माले भने, “यस वर्ष एक महिना ढिलो गरी परीक्षा सुरु हुँदैछ, बोर्डले परीक्षाका नियमावली संशोधन गरेर प्रदेशलाई धेरै जिम्मेवारी दिएको छ ।
त्यसले नतिजाका केही दिन तलमाथि हुनसक्ला, यद्यपि बोर्डले साउन १ देखि कक्षा ११ को शैक्षिकसत्र सुरु हुनुअघि नै एसईईको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएका छौं ।”
कोरोना महामारीका कारण गत वर्षको पढाइ प्रभावित भएपछि चैत महिनाभर कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा सम्पन्न गरी भर्ना अभियान सञ्चालन गरेर जेठ १ देखि कक्षा १–१० को आगामी शैक्षिकसत्र सुरु गर्ने गरी शिक्षा मन्त्रालयले व्यवस्था गरेको छ । रासस