जापानिज सवारीसाधन निर्माता कम्पनी निसानले भारतमा ड्याट्सन ब्रान्डलाई निरन्तरता नदिने भएको छ ।
मार्केजको रिलन्चको ९ वर्षपछि कम्पनीले यस्तो निर्णय लिएको हो ।
ग्लोबल रिलन्चमा ड्याट्सनको वैश्विक रिलन्चको महत्वकांक्षी योजनामा फेल खाएपछि सन् २०२० मा कम्पनीले रसिया, इन्डोनेसियासहित दक्षिण अफ्रिका र भारतमा पनि उत्पादन बन्द गरेको थियो ।
यी देशलाई कम्पनीले प्रवेश बिन्दुमै कि–मार्केटका रुपमा हेरेको थियो ।
ड्याट्सन ब्रान्ड बन्द गर्ने घोषणा गर्दै कम्पनीले चेन्नईस्थित रिनल्ट निसान अटोमोटिभ इन्डिया प्रालिबाट ड्याट्सन रेडी–गो को उत्पादन बन्द भएको जनाएको छ ।
यद्यपि बाँकी रहेका मोडलहरुको बिक्री जारी रहेको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीले वर्तमान र भविष्य दुवैमा ग्राहकको पहिलो प्राथमिकतालाई जारी राख्ने बताएको छ ।
‘सेल्स सर्भिस, पार्ट्स उपलब्धता र वारेन्टीलाई हाम्रा डिलरसिपबाट जारी राखिरहनेछौं’, कम्पनीको भनाइ छ ।
कम्पनीले अन्य दुई मोडल स्मल कार गो र गो प्लसलाई पहिल्यै बन्द गरिसकेको छ ।
ड्याट्सन बन्द हुनाको कारण निसानको वैश्विक रणनीति भएको बुझिएको छ । यो रणनीति २०२० मै घोषणा भएको थियो ।
‘निसानको वैश्विक परिवर्तन रणनीतिको हिस्साको रुपमा निसानले मुख्य मोडल र सेग्मेन्टमा ध्यान केन्द्रित गरिरहेको छ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसले ग्राहकलाई फाइदा दिनाका साथै, डिलर, पार्टनरसिप र व्यापारमा पनि लाभ दिन्छ । भारतमा आजसम्म १ लाखभन्दा बढी ग्राहक अर्डरसँगै सबै नयाँ, स्थानीय रुपमा उत्पादित निसान म्यागनाइट सामेल छन् ।’
वैश्विक रणनीतिअन्तर्गत कम्पनी रसियाबाट बाहिरिने र दक्षिण–पूर्व एसियाका केही बजारलाई सुव्यवस्थित गर्ने बताएको थियो ।
जुलाई २०१३ मा कम्पनीले भारतमा ह्याचब्याक ड्याट्सन–गोको रिलन्च गरेको थियो । यो ब्रान्ड बन्द भएको ३२ वर्षपछि पुनर्जीवित गरेको थियो ।
तर, गत वर्ष ‘रेडी गो’ र ‘गो प्लस’ लन्च गरेको थियो । तथापि मारुती सुजुकी र हुन्डाईको तीव्र प्रतिस्पर्धात्मक बजारले गर्दा ड्याट्सनले भारतीय बजारमा आफ्नो वर्चश्व स्थापित गर्न सकेन ।
जब यसलाई रिलन्च गरियो, निसान मोटरका प्रमुख कार्यकारी अधिकृत कार्लोस घोसनले निसानले आफ्नो बजारहिस्सा २०१६ सम्म १० प्रतिशत बढाउने अपेक्षा राखेका थिए । जबकि सन् २०१३ मा यसको बजारहिस्सा १.२ प्रतिशत थियो ।
यद्यपि ब्रान्ड अपेक्षाअनुसार खराे उत्रिन सकेन । घोसनको बहिगर्मनसँगै ब्रान्ड पनि मृतप्रायः बन्यो ।
सन् १९८६ मै पहिलोपटक चरणबद्ध हुनुपूर्व ब्रान्डलाई १ सय १० देशमा बेचिएको थियो ।
के हुन्छ नेपालमा ?
नेपालमा भने याे ब्रान्ड बजेट कारमा रूपमा लाेकप्रिय छ । भारतमा उत्पादन बन्द भएसँगै नेपाली बजारमा त्यसकाे प्रभाव पर्ने निश्चितजस्तै छ ।
-बिजनेस स्टान्डर्डबाट ।