काठमाडौं । वाणिज्य बैंकहरुले चालू आर्थिक ०७८/०७९ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले बुधबार तेसो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका हुन्। पुराना कर्जाहरु उठाउन सफल भएपछि अधिकांश वाणिज्य बैंकहरुको खराब ऋणको अनुपात घटेको हो ।
प्रकाशित विवरणअनुसार अधिकांश बैंकहरुले तेसो त्रैमासमा आफ्नो खराब कर्जा घटाउँदा एनआईसी एसिया बैंक, नबिल बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक र बैंक अफ काठमाण्डू (बीओके) को खराब कर्जा केही प्रतिशतले बढेको छ ।
सबैभन्दा बढी खराब कर्जा हुनेमा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको हो । यसको खराब कर्जा ३.०७ प्रतिशत छ । यद्यपि वाणिज्य बैंकको खराब कर्जा अनुपात गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ९ महिनामा घेटेको छ । गत वर्ष ३.६२ प्रतिशत थियो ।
यस्तै नेपाल एसबीआई बैंकको सबैभन्दा कम ०.१४ प्रतिशत रहेको छ । १ प्रतिशतभन्दा कम खराब कर्जा हुनेमा एभरेष्ट बैंक, सिद्धार्थ बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक, प्राइम कमर्शियल बैंक, सानिमा बैंक, मेगा बैंक र सिभिल बैंक छन् ।
के हो खराब कर्जा ?
बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तोकिए समयावधि भित्र भुक्तानी नगरे ऋणीलाई बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्नुपर्ने नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको छ । राष्ट्र बैंकले तीन महिनासम्म भाखा नाघेको कर्जालाई असल कर्जा नै मान्ने गरेको छ ।
तीन महिनादेखि ६ महिनासम्म भाखा नाघेको कर्जालाई कमसल मानिन्छ । ६ महिनादेखि एक वर्षसम्म भाखा नाघेकोलाई शंकास्पद तथा एक वर्षभन्दा बढी भाखा नाघेको कर्जालाई खराब कर्जाको रुपमा गणना गरिन्छ ।
एक वर्ष भाखा नाघेका कर्जालाई बैंक तथा वित्तीय संस्थाले रकम व्यवस्था (प्रोभिजन) गर्नुपर्ने प्रावधान छ । पछिल्लो समय राष्ट्र बैंकले असल कर्जालाई पनि प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था ल्याएको छ । गत असारमा ल्याएको नयाँ निर्देशनअनुसार केन्द्रीय बैंकले असल कर्जामा प्रभिजनिङ रकम बढाएर १.३ प्रतिशत पुर्याएको छ । यसअघि यस्तो कर्जामा १ प्रतिशत मात्र थियो ।
ऋणको पुनर्तालिकीकरणमा साढे १२ प्रतिशत प्रोभिजनिङ गर्नुपर्छ । यस्तै ३ महिनामा कर्जा असुली नभए २५, ६ महिनामा ५० र १ वर्षमा १०० प्रतिशत नै प्रोभिजनिङ गर्नुपर्ने हुन्छ । नाफाबाट प्राेभिजनिङ नपुगे पुँजीकोषबाट कटाउनु पर्ने भएकाले समय-समयमा बैंकको पुँजीकोष केन्द्रीय बैंकले तोकेको भन्दा कम हुने गरेको छ ।
पुँजीकोष बान्छित सीमाभित्र नपुर्याउने बैंकहरुले सेयरधनीलाई लाभांश वितरण गर्न केन्द्रीय बैंकले रोक लगाउँदै आएको छ । वाणिज्य बैंकहरुको पुँजीकोष ११ प्रतिशत तोएिको छ । नगद लाभांश दिंदा बैंकहरुले थप १ प्रतिशत पुँजीकोषमा राख्नुपर्छ ।