काठमाडौं । नयाँ वर्षका दुई दिन घटेको सेयर बजार मंगलबार केही बढ्ने संकेत गरे पनि बुधबार भने फेरि घटेको छ । मंगलबार मंसिर २८ यताकै न्यून विन्दूमा पुगेर उक्लिएको बजारले लगानीकर्तामा केही सकारात्मक सञ्चार गरे पनि बुधबार फेरि ओरालो लागेर मंगलबारको न्यून बिन्दूलाई नछोइकनै बजार बन्द भएको छ । मंसिर २८ मा २२८३ मा रहेको थियो ।
मंगलबार २३१४.४२ अंकसम्म झरेर २३५७ मा कारोबार रोकिएको थियो । बुधबार कारोबार खुल्दा मंगलबारको तुलनामा बजार केही बढेर २३६७ अंकसम्म चढे पनि त्यसले निरन्तरता पाउन सकेन । बजार निरन्तर ओरालो लाग्दै २३१६.६९ अंकसम्म झरेकोमा अन्तिम सामान्य उचालिन खोज्दै २३२०.५१ मा रोकिएको छ । मंगलबारको तुलनामा ३६.७३ अंकले घटेको बजारमा १८३ कम्पनीको मूल्य ओरालो लागेको छ ।
घटेको बजारमा पनि जाल्पा सामुदायिक लघुवित्त र ग्रिन भेञ्चरको मूल्य सकारात्मक सर्किट लागेर बन्द भएको छ भने लगातार सकारात्मक सर्किट लाग्दै आएको नेष्डोको सेयर मूल्य बुधबार १० प्रतिशतले नै घटेर कारोबार भएको छ ।
नेष्डोलाई पच्छ्याएको हिमालयन ऊर्जाको सेयर मूल्य ६.२९ प्रतिशतले घटेको छ । बुधबार सबैभन्दा बढी कारोबार भएको नेष्डोकै १४ करोड १९ लाख रुपैयाँ छ ।
विभिन्न बाहनामा घट्दै आएको बजारमा गभर्नर महाप्रसाद अधिकारीको पुनर्बाहलीले बजारमा कुनै सकारात्मक संकेत देखाएन । पुँजी बजार विरोधी गभर्नरको उपमा पाएका अधिकारीको निलम्बन हुँदा पनि बजार घटेकै थियो ।
गभर्नर अधिकारीको निलम्बनको प्रक्रिया चैत २५ मा सुरु भएको थियो । २५ शुक्रबार, २६ शनिबार र २७ सार्वजनिक बिदा भएकाले सेयर बजार एकै पटक चैत २८ मा खुलेको थियो । चैत २५ मा २४६४ अंकमा रहेको सूचक २८ गते सोमबार ४५ अंकले घटेर २४१९ मा रोकिएको थियो ।
अर्थतन्त्रको स्थिति सकारात्मक नहुनु, तरलता अभावको स्थिति कायम रहनु, भुक्तानी सन्तुलनमा सुधारको गुन्जायस नदेखिनु, सूचीकृत कम्पनीहरुको वित्तीय विवरण पनि उत्साहजनक नहुनु र समग्रतामा लगानीकर्ताको मनोभाव कमजोर देखिनुले बजार प्रभावित बनेको छ । त्यसको संकेत कारोबार रकमले पनि देखाउँदै आएको छ । बुधबार १ अर्ब ४५ करोडको सेयर किनबेच भएको छ । यो मंगलबारको भन्दा केही बढी हो । मंगलबार १ अर्ब २८ करोडको सेयर किनबेच भएको थियो ।