काठमाडाैं । नेपालले ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धता अपरिहार्य भएकामा जोड दिएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा मन्त्रीहरूको तेस्रो बैठकमा ऊर्जा सुरक्षमा जोड दिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उक्त बैठकमा बिम्स्टेक मुलुकका करिब १ अर्ब ७० करोड जनताको भविष्यलाई दृष्टिगत गरी ऊर्जा क्षेत्रले सामना गरिरहेका गम्भीर समस्यालाई सम्बोधन गर्न पारस्परिक विश्वास, भावी प्रयासहरूमा स्पष्टता र उद्देश्यमा इमान्दारी अत्यन्त महत्वपूर्ण भएको बताइन् ।
विचार–विमर्शले बिम्स्टेक क्षेत्रमा ऊर्जा सहयोग अभिवृद्धि गर्न योगदान पुर्याउने विश्वास व्यक्त गर्दै ऊर्जाका लागि पर्याप्त वित्त परिचालनका साथै प्रविधि हस्तान्तरणलाई बढावा दिनुपर्ने उनकाे भनाइ थियाे ।
सदस्य राष्ट्रका अर्थतन्त्रबीच सबै पक्षमा बढेको अन्तरसम्बन्धले क्षेत्रीय सहयोगको भावनालाई वास्तविक रूपमा अघि बढाउन मद्दत मिल्ने उनले बताइन् ।
काठमाडौंमा सम्पन्न चौथो बिम्स्टेक शिखर सम्मेलनमा बिम्स्टेक ‘ग्रिड इन्टरकनेक्सन’ स्थापनाका लागि भएको समझदारीको चर्चा गर्दै मन्त्री भुसालले ऊर्जा व्यापार एउटा महत्वपूर्ण विषय भएकाे र यसले हाम्रा देशहरूमा बिजुलीको बर्बादी र ऊर्जा अभावको जोखिमलाई कम गर्न सक्ने बताइन् ।
ऊर्जा सधैं बिम्स्टेक प्रक्रियाको महत्वपूर्ण प्राथमिकताको क्षेत्रका रूपमा रहेको तथा यस क्षेत्रमा ऊर्जा सहयोग प्रवर्धनका निम्ति निरन्तर प्रयास भएकाे बताउँदै उनले अनुभव आदानप्रदान, क्षमता अभिवृद्धि र उत्कृष्ट अभ्यासलाई प्रवर्धन गरी ऊर्जा क्षेत्रमा सहकार्य, समन्वय, सहजीकरण गर्नुपर्नेमा जोड दिइन् ।