काठमाडौं । जापानले अध्ययनका लागि नेपाली विद्यार्थी तथा रोजगारकर्ता जाने बाटो खुला गरेसँगै एयरलाइन्सहरुले मनलाग्दी भाडा असुल्न थालेका छन् । अध्ययनसहित रोजगारीका लागि जानेहरुको संख्या बढिरहँदा मौका छोप्दै एयरलाइन्सहरुले चर्को शुल्क असुल्दा पनि यसप्रति सरकारले कुनै चासो देखाएको छैन ।
नेपालबाट सीधा उडान भर्दै आएको नेपाल वायुसेवा निगमले समेत चर्को शुल्क लिइरहेको छ । सामान्य अवस्थामा जापानको टिकट ७८ हजारदेखि ८० हजारसम्म हो । २ वर्ष अघिसम्म जापानको टिकट ४० हजार रुपैयाँमा पाइन्थ्यो । तर, कोभिड संक्रमणपछि भने निगमले हवाई भाडा बढाएर १ लाख ३२ हजारसम्म पुर्याएको छ ।
यसरी झन्डै दोब्बर मूल्य बढाउँदासमेत विद्यार्थीहरुले भने सहज रुपमा टिकट पाइरहेका छैनन् ।
सरकारी स्वामित्वमा रहेको निगमबाटै विद्यार्थीहरु लुटिँदासमेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मौन रहनु गम्भीर विषय रहेको एक विद्यार्थीको भनाइ छ । ‘टिकट पाउनका लागि विभिन्न ट्राभल एजेन्सीहरु धाउँदासमेत पाइँदैन’, ती विद्यार्थीले भने, ‘पाए पनि बार्गेनिङ गरेर कमिसन दिनुपर्छ ।’
भिसा लागेपछि तत्कालै जान चाहनेहरुका कारण पनि टिकट खोसाखोस हुने भएकाले त्यसको फाइदा एयरलाइन्स र ट्राभल एजेन्सीहरुले लिन थालेका छन् ।
कोभिडका कारण २ वर्षभन्दा बढी समयदेखि रोकिएका विद्यार्थीहरु भिसा लाग्नेबित्तिकै जापान जान चाहन्छन् । जसका कारण हाल दैनिक ५ देखि ६ सय जनाको भिसा लाग्ने र त्यति नै संख्यामा जान खोज्ने भएकोले पनि टिकट हाहाकार भएको बुझिएको छ ।
निगमका कर्मचारीहरुले कमिसनको लोभमा ट्राभल एजेन्सीलाई सस्तोमा टिकट दिएर महँगोमा बेच्न लगाएको आरोप विद्यार्थीहरुको छ । यद्यपि, सरकारी स्वामित्वमा रहेको निगमका कर्मसियल डाइरेक्टर जनक कालाखेतीसँग यस विषयमा जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
यता निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले भने जापानले एयरलाइन्समा सीमित सिट संख्या तोकिएका कारण जहाजभरि यात्रुहरु लैजान नपाउँदा टिकट हाहाकार भएको बताए ।
निगमकै कर्मचारीले कमिसनको लोभमा ट्राभल एजेन्सीलाई सस्तोमा टिकट दिन्छन् रे भन्ने प्रश्नमा, ‘मलाई पनि बाहिरबाट धेरै प्रश्नहरु आएका छन् । यस विषयमा अध्ययन गर्छु’, उनले भने ।
जापानमा निगमको वाइडबडी जहाज गए पनि सिट संख्या सीमित गरेका कारण र एक पटकमा ११० देखि १२० जना मात्र लैजान मिल्ने भएकाले समस्या उत्पन्न भएको उनको भनाइ थियो ।
‘हामीले विद्यार्थीहरुलाई महँगो शुल्क लिन चाहेका छैनौं, सिट संख्या अनुसार नै निगमले भाडा निर्धारण गरेको छ, कर्मचारीहरुबाट कुनै गल्ती भएको भए सच्याउन लगाउँछु’, कार्यकारी अध्यक्ष अधिकारीले भने ।
पछिल्लो समय एयरलाइन्समा टिकट नपाए पनि बागबजार, न्युरोड लगायतका क्षेत्रमा रहेको स–साना ट्राभल एजेन्सीहरुमा भने निगमको टिकट पाइन्छ । ती एजेन्सीहरुले टिकटको बार्गेनिङ गर्दै चर्को शुल्कमा बिक्री गर्दै आएको विद्यार्थीहरुको आरोप छ ।
यता समेघ ट्राभलका सञ्चालक मेग केसीले सीमित एयरलाइन्सले मात्र जापानमा उडान गर्ने गरेको र माग ह्वात्तै बढेकोले हवाई टिकटको मूल्य बढेको बताए । अहिले नेपालबाट जाने/आउनेहरुको संख्या बढ्दा टिकट पाउनै मुस्किल भएको उनको भनाइ छ ।
सरकारले जापान सरकारसँग एयरलाइन्सको सिट संख्या थप्नका लागि कूटनीतिक पहल गरे अहिलेको समस्या समाधान हुने उनले सुनाए । हाल जापानमा नेपालबाट नेपाल वायुसेवा निगम,सिंगापुर एयरलाइन्स, एयर इन्डिया, कतार एयरवेजले उडान भर्दै आएका छन् ।