भरतपुर । भरतपुर महानगरका सहरी क्षेत्र उज्याला हुन थालेका छन् । राष्ट्रिय सडकबत्ती प्रवर्धन आयोजना र भरतपुर महानगरपालिकाको सहकार्यमा महानगरका बजारी क्षेत्रमा स्मार्ट सडकबत्ती जडानकार्य सुरु भएसँगै सहर उज्यालो हुन थालेको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख सडकमा यही जेठ दोस्रो साताभित्र स्मार्ट सडकबत्ती जडानकार्य सम्पन्न हुने भएको छ ।
अहिले सडकबत्तीका लागि खम्बा गाड्न फाउन्डेसन निर्माणको काम अन्तिम चरणमा पुगेको बत्ती जडानको काम गर्दै आएका शिशिर लम्सालले बताए । १ हजार १९० वटा फाउन्डेसन निर्माण गर्नुपर्नेमा हालसम्म अधिकांश निर्माणको काम सम्पन्न भएको र ५०० खम्बा गाडिसकेको उनको भनाइ छ ।
मंगलपुर बजारक्षेत्र र बाइपास रोड क्षेत्रमा काम बाँकी रहेको उनको भनाइ छ । बाटो र घरका कारण समस्या आएको भए पनि केही समयमा समस्या समाधान गरी निर्माण र जडानको काम सम्पन्न गरिने उनले बताए । ‘यी सबै काम सकेर बत्ती जडानको काम सक्दै गर्दा वैशाखको अन्तिम वा जेठको दोस्रो साता लाग्छ’, उनले भने ।
यही वैशाख १ गते भरतपुर महानगरपालिकाको चौबिसकोठीमा स्मार्ट सडकबत्ती बालेर शुभारम्भ गरिएको छ ।
यस अभियानअन्तर्गत ७८.१ किलोमिटर सडक क्षेत्रमा १ हजार ९ सय ३३ वटा बत्ती जडान गरिनेछ ।
महानगर प्रमुख रेनु दाहालका अनुसार मूल्य अभिवृद्धि करसहित ११ करोड ४९ लाख ८९ हजार ३०० रुपैयाँमा मा ठेक्का सम्झौता भएसँगै सेफ स्टिल/सूर्योदय ऊर्जा/टपसन जेभीले काम गरिरहेका छन् ।
‘सुरक्षा र सुन्दरताको हिसाबले भरतपुरलाई नेपालकै उत्कृष्ट सहर बनाउन उज्यालो सहर अभियान सहयोगी बन्ने मेयर दाहालले बताइन् । भरतपुरका मुख्य सहरीक्षेत्र जिल्ला प्रशासन चोक, हाकिमचोक, चौबीसकोठी, वीरेन्द्र क्याम्पस चोक, सहिदचोक, पुलचोक, पोखरा बसपार्क दियालो बंगला चोक र मालपोत चोकमा हाइमास्ट बत्ती जडान गरिँदैछ ।
हाकिमचोक–गीतानगर–जगतपुर सडकखण्डको १८.४६ किमि सडकमा ४०१ सडक बत्ती जडान हुनेछन् । यस्तै चौबीसकोठीदेखि मेघौलीसम्म ५६९, मंगलपुरदेखि शुक्रनगरसम्म ६५२ र पुल्चोकदेखि दियालो बंगलासम्म ५८ वटा सडकबत्ती जडान हुनेछन् ।
यस्तै दियालो बंगलादेखि जिल्ला प्रशासन कार्यलयसम्म १६५, बसेनी बजारदेखि लामाटोलसम्म ५० र वीरेन्द्र क्याम्पस चोकदेखि विशालचोकसम्म ३८ स्मार्ट सडकबत्ती जडान गरिनेछ