बागलुङ । यहाँका किसानले वडाको अनुदानबाट पशुपन्छीपालनमा लाभ उठाएका छन् । बागलुङ नगरपालिका–३ ले वडाभित्रका ३ सय ३४ किसानलाई ५० प्रतिशत अनुदानमा कुखुराका चल्ला बाँडेको हो ।
वडास्तरीय कृषि समितिका अध्यक्ष बैकुण्ठ सापकोटाले स्थानीय जातका तीन हजार चल्ला वितरण गरिएको बताए । एक सय पर्ने चल्लालाई किसानले ५० रूपैयाँ तिरेका थिए भने समितिमार्फत वडाले ५० रूपैयाँ अनुदान दिएको थियो ।
“एक जनाले ८ देखि १२ वटासम्म चल्ला पाउनुभएको छ, कुखुरापालनमा किसानलाई व्यवसायउन्मुख बनाउन अनुदान उपलब्ध गराइएको हो”, अध्यक्ष सापकोटाले भने । अनुदानमा वडाको रु एक लाख ५० हजार खर्च भएको छ ।
समितिले गाउँटोलसम्मै पुगेर किसानलाई चल्ला बाँडेको थियो । वडामा ठूलो लगानीमा स्थानीय जातका कुखुराको व्यावसाय गरिरहेका किसान पनि छन् । अध्यक्ष सापकोटा आफैं पनि व्यावसायिक कुखुरापालक छन् ।
समितिले अनुदानमा चल्ला वितरणसँगै वडाका १३२ गाईभैंसीको बिमाका लागि किसानलाई सघाएको छ । “वडाका अधिकांश किसानले पशु बिमा गर्नुभएको छ, १ करोड ७२ लाख बराबरको बीमा गरिएको छ”, उनले भने ।
एउटा भैंसीको अधिकतम् १ लाख १५ हजारसम्म मोल गरी बिमा गरिएको छ । गाई र भैंसीको निर्धारित मूल्यको ८० प्रतिशत बिमा सरकारले र बाँकी २० प्रतिशतमा आधाआधा गरी समिति र किसानले तिरेका छन् । वडाको बजेटमध्ये पुश बिमामा ६८ हजार रूपैयाँ खर्च भएको समितिले जनाएको छ ।
त्यति नै रकम किसानले पनि हालेका छन् । कुल बीमा रकममा किसानले वर्षेनी आफ्नो दायित्ववापतको पैसा तिर्नेछन् । वडाले आउँदो वर्षमा पनि बीमा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
एउटै भैंसीको मृत्यु भए किसानलाई झण्डै १ लाख क्षति हुने हुँदा बिमाले त्यसको जोखिम घटाउने समितिको भनाइ छ । व्यावसायिक रूपमा पशुपन्छीपालनका लागि वित्तीय संस्थाबाट ऋण लिँदा पनि बैंकहरुले बिमा खोज्ने गरेको किसान बताउँछन् ।
सरकारले कृषि तथा पशुबीमा कार्यक्रम ल्याएपछि व्यावसायिक ‘फार्म’हरूलाई बढी टेवा पुगेको छ । कुनै कारणले व्यवसायमा क्षति पुगेमा बीमाबाट सोको क्षतिपूर्ति मिल्छ ।