काठमाडौं । आर्थिक वर्ष सकिएको ९ महिना बितिसक्दा पनि एक दर्जन निर्जीवन बिमा कम्पनीले गत आर्थिक वर्ष ०७७/०७८ को लाभांश घोषणा गरेका छैनन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १८ निर्जीवन कम्पनीमध्येका ४ कम्पनी युनाइटेड इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी, शिखर इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छैनन् । बाँकी १२ कम्पनीले भने लाभांश घोषणा गरेका छन् ।
निर्जीवन बिमा कम्पनीहरूको हकमा आर्थिक वर्ष सुरु भएको ६ महिना (पुस मसान्त) सम्ममा लाभांश घोषणा गरेर स्वीकृतिका लागि समितिमा पठाउनु पर्ने छ । तर, हालसम्म कतिपय कम्पनीले भने लाभांश नै घोषणा गरेका छैनन् ।
दुई निर्जीवन बिमा कम्पनीले सेयरधनीको हात रित्तै
पछिल्लो समयमा सञ्चालनमा आएका सानिमा जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीले सेयरधनीको हात खाली बनाएका छन् । यी दुईवटै कम्पनीले लाभांश बिना साधारणसभा सम्पन्न गरेका छन् ।
यी कम्पनीले गरे लाभांश घोषणा
गत आर्थिक वर्ष ०७७/०७८ को नाफाबाट एक दर्जन निर्जीवन बिमा कम्पनीले लाभांश घोषणा गरेका छन् । हालसम्म नेप्सेमा सूचीकृत नेपाल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, पु्रडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेका छन् ।
यस्तै लम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।
सगरमाथा इन्स्योरेन्सको सबैभन्दा बढी लाभांश
लाभांश घोषणा गर्ने एक दर्जन कम्पनीहरूमध्येमा सबैभन्दा बढी लाभांश सगरमाथा इन्स्योरेन्सले घोषणा गरेको छ । सगरमाथा इन्स्योरेन्सले सेयरधनीहरूलाई २१.०५३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांश पारित गर्न साधारणसभा आगामी वैशाख २८ गते आह्वान गरेको छ । कम्पनीको साधारणसभाले लाभांश पारित गरेपश्चात् सेयरधनीले लाभांश पाउनेछन् ।
त्यस्तै, दोस्रोमा सिद्धार्थ इन्स्योरेन्सले कुल १५.७९ प्रतिशत, तेस्रोमा नेको इन्स्योरेन्सले १५.७५ प्रतिशत लाभांश घोषणा गरेको छ । यी दुईवटै कम्पनीको साधारणसभाले लाभांश प्रस्ताव पारितसमेत गरेका छन् ।
त्यस्तै, प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत, नेपाल इन्स्योरेन्सले ११.५७ प्रतिशत, एनएलजी इन्स्योरेन्सले १०.५२ प्रतिशत, प्रभु इन्स्योरेन्सले ११ प्रतिशत, लम्बिनी जनरलले १० प्रतिशत, आईएमई जनरल इन्स्योरेन्सको ७.३७ प्रतिशत छ ।
यसैगरी पु्रडेन्सियल इन्स्योरेन्सको ७.३६ प्रतिशत र हिमालयन जनरल इन्स्योरेन्सले ७ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बुक क्लोज हुन् बाँकी कम्पनी
गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने ती कम्पनीले साधारणसभा र लाभांश प्रयोजनको लागि सेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) बन्द गरेका छैनन् ।
लाभांश घोषणा गरेका लम्बिनी जनरल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले लाभांश र साधारणसभा प्रयोजनका लागि बुक क्लोज मिति तय गरेका छैनन् । यी तीन कम्पनीको बुक क्लोजको अघिल्लो दिनसम्म सेयर खरिद गर्नेले भने लाभांश पाउनेछन् ।
एजीएम गर्न बाँकी कम्पनी
एभरेष्ट इन्स्योरेन्स, पु्रडेन्सियल इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्सले लाभांश पारित गर्न साधारणसभा बोलाएका छन् । एभरेष्ट इन्स्योरेन्सले वैशाख २२ गते साधारणसभा बोलाएको छ ।
त्यस्तै, पु्रडेन्सियल इन्स्योरेन्सले वैशाख ११ गते र आईएमई जनरल इन्स्योरेन्सले वैशाख ९ गते साधारणसभा बोलाएका छन् । कम्पनीको सभाले लाभांश पारित गरेपछि मात्रै सेयरधनीले लाभांश हात पार्न सक्नेछन् ।