काठमाडौं । विद्युत् उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) ले निर्माण गर्ने सबै जलविद्युत् आयोजनाहरुमा लगानी जुटाउने जिम्मा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले लिएको छ । भीयूसीएलले ल्याउने सबै आयोजनामा एचआईडीसीएलले स्वपुँजी (इक्विटी) र ऋण दुवै लगानी गर्ने भएको छ ।
पहिलो चरणमा भीयूसीएलले अघि सारेका ४२६ मेगावाटको फुकोट–कर्णाली अर्धजलाशय र १०६ मेगावाटको जगदुल्ला अर्धजलाशय आयोजनामा एचआईडीसीएलले इक्विटी र ऋण दुवैै लगानीको व्यवस्थापन गर्ने भएको हो । दुई आयोजनाको जडित क्षमता ५३२ मेगावाट छ । प्रस्तावित दुई आयोजना बनाउन १ खर्ब २० अर्ब रुपैयाँ लाग्ने संभाव्यता अध्ययनले देखाएको छ ।
लगानीसम्बन्धी मंगलबार भएको समझदारीपत्र (एमओयू) मा एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुनकुमार गौतम र भीयूसीएलका प्रबन्ध निर्देशक सूर्यप्रसाद रिजालले हस्ताक्षर गरेका छन् ।
भीयूसीएलले ल्याउने आर्थिक रुपमा संभाव्य सबै जलविद्युत आयोजनामा स्वपुँजी र ऋण दुबै लगानी गर्ने एचआईडीसीएलका सीईओ गौतमले बताए । आयोजना बनाउन भीयूसीएलले लगानीको चिन्ता लिनुनपर्ने उनले स्पष्टपारे ।
विद्युत् उत्पादन कम्पनीको स्थापना नेपाल विद्युत् प्राधिकरणले गरेको हो । एचआईडीसीएलमा ८० प्रतिशत सरकारको लगानी रहेको छ । फुकोट–कर्णाली र जगदुल्ला आयोजना नेपालको पानी जनताको लगानी योजनाअनुसार निर्माण हुन लागेको हो ।
एचआईडीसीएलले यसअघि नै फुकोट–कर्णालीमा १ अर्ब २६ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ । एचआईडीसीएलले आयोजनाको १० प्रतिशत सेयर मूल्यबराबरको सो रकम लगानी गर्न लागेको हो ।
भीयूसीएलले ४२५ मेगावाटको किमाथांका अरुण र १३०० मेगावाटको मुगु–कर्णाली जलाशय आयोजनाको अध्ययन गरिरहेको छ । एमओयूअनुसार यी दुई आयोजनामा आवश्यक पर्ने लगानी एचआईडीसीएलले व्यवस्थापन गर्ने भएको छ ।
प्रस्तावित फुकोट–कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको प्रारम्भिक निर्माण सुरु भएको छ । हाल आयोजनाको परीक्षणका लागि आयोजनास्थल कालिकोटको रास्कोट नगरपालिका–९ फुकोटको फुगाडखोलामा सुरुङ खन्न थालिएको हो । आयोजना बनाउन १ खर्ब रुपैयाँ लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ ।
निर्माण सुरु भएको ६ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको माटोको अवस्था र चट्टानलगायतका भौगर्भिक अध्ययनका लागि ६०० मिटर सुरुङ खन्न थालिएको आयोजनाले जनाएको छ ।
आगामी छ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको आयोजनाले जग्गा अधिग्रहण गर्न सरकारले स्वीकृति प्रदान गरेपछि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको आयोजनाले जनाएको छ ।
आयोजनाको बाँध निर्माणबाट डुबानमा पर्ने कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको साविक रकु, स्युँना, मेहलमुढी, फुकोट, बदालकोट, नानीकोट र राम्नाकोट गाविसमा रहेका प्रभावितको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको छ ।
आयोजना निर्माण भएमा २५ प्रतिशत कर्णाली प्रदेशलाई र २५ प्रतिशत कालीकोटका जनतालाई रोयल्टी प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै अर्धजलाशययुक्त १०६ मेगावाट जगदुल्ला आयोजना निर्माण गर्न विकासकर्ता जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले संस्थापक सेयरधनीसँग रकम मागेको छ ।
कम्पनीले विद्युत् उत्पादन कम्पनी लिमिटेड, एचआईडीसीएल, विद्युत् प्राधिकरण, कर्णाली प्रदेश सरकार र स्थानीय तह जगदुल्ला र मुड्केचुला गाउँपालिकालाई सेयर रकम जम्मा गर्न भनेको हो ।
संस्थापक सेयरधनीबाट जगदुल्लाले ६३ करोड ४९ लाख ३० हजार रुपैयाँ संकलन गर्ने भएको छ । जसअनुसार विद्युत् उत्पादनको ४ करोड ९१ लाख ८० हजार, एचआईडीसीएलले २३ करोड ४३ लाख, विद्युत् प्राधिकरणले २१ करोड ८ लाख ७० हजार, कर्णाली सरकारले ११ करोड ७१ लाख ५० हजार र स्थानीय तहहरुले २ करोड ३४ लाख ३० हजार रुपैयाँ जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ । आयोजना निर्माणका लागि १० प्रतिशत सेयर स्थानीयवासीले पाउने भएका छन् ।
मुड्केचुला गाउँपालिका–४ इलमा विद्युत् उत्पादनगृह निर्माण हुनेछ भने जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा मुख्य बाँध रहनेछ । करिब २० अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको यो आयोजनाले दैनिक १ करोड २० लाख रुपैयाँ आम्दानी गर्नेछ ।
जटिल भूगोल र हेलिकप्टरबाट ल्याइएका सामग्रीबाट त्यहाँको नमुना परीक्षण हुने गरेको छ । आयोजनाका लागि आवश्यक पर्ने २६० रोपनी जग्गा अधिग्रहण र मुआब्जाको काम तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कामसमेत अघिल्लो वर्ष सम्पन्न भइसकेको छ । एनईए इन्जिनियरिङ लिमिटेडले तयार पारेको डीपीआरअनुसार आयोजनाको जडित क्षमता १०६ मेगावाट छ ।
आयोजनाले उत्पादित विद्युत् बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग (पीपीए) तथा वित्त व्यवस्थापनका निवेदन दिएको छ । आयोजनाको पहुँचमार्ग जाजरकोट–डोल्पा सडक त्रिवेणीबाट करिब ४५ किलोमिटर सहायक सडक निर्माण गरी आयोजनास्थल मुड्केचुला र जगदुल्ला सडकखण्ड निर्माण गर्नुपर्ने छ ।
यसअघि ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि भौगोलिक विकटताका कारण १०६ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ । ७ किलोमिटर लामो भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३०० मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।
जगदुल्ला गाउँपालिका–१, हुरिकोटमा २३ मिटर उचाइको जलाशययुक्त बाँध निर्माण हुनेछ । त्यहाँ करिब ६ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिने छ ।
आयोजना निर्माणका लागि आवश्यक बिजुलीको निम्ति इलस्थित फेदीखोलाबाट २ मेगावाट र काइगाउँस्थित स्थानीय खोलाबाट २ मेगावाट बिजुली उत्पादन गर्न सम्भाव्यता अध्ययनको काम सुरु गर्न लागिएको छ ।