मनाङ । हिमाली जिल्ला मनाङको वातावरण यतिबेला अति नै रमणीय देखिन्छ । जिल्लैभरि रहेका बगैंचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रोमाञ्चक देखिएको हो ।
मनाङ स्वादिलो स्याउ पाइने जिल्लाका रूपमा चिनिन्छ । त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैंचाहरुमा फूल फुलेर अहिले सेताम्य भएको छ । चैत वैशाखमा स्याउ फुल्ने र असोज कात्तिकमा पाक्ने गर्छ ।
इटली र सर्भियाबाट स्याउका बिरुवा ल्याएर यहाँ रोपेको हो । स्याउका बिरुवा ल्याएर रोपेपछि सुरु भएको स्याउ खेती आजसम्म जिल्लाभरि फैलिएको छ । यहाँ चार स्थानीय तहमध्ये नार्पाभूमिबाहेक चामे, नाँसो र मनाङ ङिस्याङ गाउँपालिकामा स्याउ खेती हुँदै आएको छ ।
अहिले मनाङमा तीन जातका स्याउ फल्ने गरेको कृषि विज्ञहरुको भनाइ छ । यहाँ गोेल्डेन डेलिसेस, इटालिएन फुजी र गाला जातका स्याउ फल्ने गरेका छन् भने केही स्थानमा रैथाने र विकासे स्याउ पनि फल्न गरेका छन् ।
मनाङको स्याउले काठमाडौं, पोखरा, लमजुङलगायत देशका ठूला सहरमा पनि निकै आकर्षक बजार लिएको छ । पछिल्लो समय जिल्लाबाहिर स्याउको माग पनि बढ्दै गएको छ भने मनाङे स्याउ पाए भने मन नपराउने भने कोही नेपाली छैनन् । पछिल्ला दिनहरुमा सडक सञ्जालसँग मनाङ जिल्ला जोडिएपछि स्याउ ढुवानीमा सहजता भएको किसानको भनाइ छ ।
जिल्ला डुम्रे–बेंसीसहर–चामे सडकखण्ड जोडिएपछि यहाँका किसान स्याउ खेतीतर्फ आकर्षित भएका छन् । आफूले फलाएको स्याउले सजिलै बजार पाउने र निर्यात हुने भएपछि किसान उत्साहित भएका हुन् ।
उनीहरु भन्छन्, “गर्नसक्यो भने मनाङको स्याउको इज्जत नै अर्कैछ, तर ठूला शहर बजार टाढै छन्, त्यसले गर्दा मुख्य समस्या ढुवानीमै छ ।” वर्षदिनमै उत्पादन दिने र राम्रो बजार पाइन थालेपछि स्थानीय बासिन्दा इटालियन स्याउतर्फ आकर्षित भएका हुन् ।
एग्रो मनाङले ७३५ रोपनी जग्गामा स्याउखेती गरेको छ । एग्रोले ६ वर्षअगाडि इटली र सर्भियाबाट स्याउका बिरुवा ल्याएर रोपेको हो । स्याउखेती गर्दै आएका एग्रो मनाङका समराज गुरुङले राम्रो उत्पादन भइरहेको बताउनुभयो । यो मनाङको हावापानी सुहाउँदो स्याउ भएको उनको भनाइ छ ।
स्याउ फर्ममा गाला, गोल्डेन र फुजी जातका स्याउ लगाइएको छ । “हरेक वर्ष स्याउको उत्पादन वृद्धि भइरहेको छ भने बिक्री वितरण गर्ने दर पनि वृद्धि भएको छ । राज्यले स्याउ खेतीलाई प्राथमिकता दिएको र यहाँका किसानले पनि मेहनत गर्ने भएकाले हरेक वर्ष मनाङमा स्याउ उत्पादन बढ्दै गएको छ”, उनले भने ।
स्याउलाई स्टोर गर्न भ्राताङ, बेंसीसहर र काठमाडौंमा शीतभण्डार बनाएको छ । एग्रो मनाङले समुद्री सतहदेखि दुई हजार नौ सय मिटर उचाइको भ्राताङमा ‘हाइडेन्सिटी’ प्रविधिमार्फत स्याउ फलाएको हो । रासस