काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । लामो समयदेखि निरन्त ओरालो लागेको बजार वैशाख ६ गते मंगलबार उकालो लागेको हो । यस दिन नेप्से परिसूचक १३ दशमलव ३७ अंकले बढेर २३ सय ५७ दशमलव २४ बिन्दुमा पुगेको छ । बजारमा सामान्य अंकले सुधार देखिए पनि कारोबार रकम भने खुम्चिएको छ ।
सोमबार १ अर्ब ९९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको बजारमा मंगलबार घटेर १ अर्ब ३२ करोडमा सीमित भएको छ ।
मंगलबार बजारमा देखिएको सुधारले अब विस्तारै सकारात्मक माहोल सिर्जना हुने अपेक्षा गर्न सकिन्छ । नेप्सेमा सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुने क्रम पनि सुरु भएकाले बजार बढने संकेत देखिएको छ । बैंकहरुको फागुन महिनाको नाफाको विवरण उत्साहजनक थियो । चैतको पनि विवरण थपिएर आउँदा नाफामा बढोत्तरी देखिने सम्भावना छ ।
यस त्रैमासको रिपोर्टबाट कम्पनीहरुको वर्षभरिको कमाइ र लाभांश अनुपातको समेत मोटामोटी आँकलन गर्न सकिन्छ । सोहीअनुसार लगानीकर्ताहरुले खरिदबिक्री रणनीति बनाउँछन् । सोही कारण बजारमा पनि क्रमशः चहलपहल बढ्ने अपेक्षा गरिन्छ ।
स्थानीय निकाय निर्वाचन पनि नजिकिँदैछ । निर्वाचनको माहोलमा बजारमा पर्याप्त पैसा आउने विश्लेषण गर्न सकिन्छ । यस्तै, नयाँ बजेटको तयारी सुरु हुनै लाग्दा चालू आवको सरकारी खर्च पनि वृद्धि हुन थालेको छ । यी सन्दर्भहरुमा केही समयपछि नै बजारले गति लिने विश्लेषकहरुको अनुमान रहेको छ ।
लामो समयसम्म नेप्से करेक्सनमा गएकाले मूल्य निकै सस्तो भइसकेको अवस्था छ । यसर्थ, अब खासै तल जाने ठाउँ छैन । यस्तै, बुल र्याली सुरु हुनका लागि तरलता अवस्था र बैंक ब्याजदरले केही अप्ठ्यारो बनाइरहेको जस्तो देखिन्छ ।
थोरै तरलता अवस्था सहज हुने बित्तिकै बजारले नयाँ उचाइतर्फको यात्रा तय गर्ने विश्लेषकले दाबी गरिरहेका छन् ।
सर्वाधिक सेयरमूल्य उचालिएका कम्पनी
सामान्य अंकले बढेको बजारमा नेप्सेमा समृद्ध लघुवित्तको सेयरमूल्य सर्वाधिक अंकले बढेको छ । यस दिन कम्पनीको सेयरमूलय १० प्रतिशतले बढेको हो । त्यस्तै, हालै आईपीओ जारी गरेको ग्रीन भेन्चर्स कम्पनीको सेयरमूल्य पनि १० प्रतिशतले बढेको छ । कम्पनीको नेप्सेमा आजदेखि नै कारोबार सुरु भएको हो ।
कारोबार सुरु भएको दिनमा कम्पनीको सेयरमा खरिद माग उच्च हुँदा सेयरमूल्य उचालिएको हो । साथै, हिमालयन ऊर्जा विकास र सबै लघुवित्तको सेयर उच्च अंकले बढेको छ ।
सेयरमूल्यमा उच्च गिरावट आएका कम्पनी
यस दिन कारोबारमा आएका २२९ कम्पनीमध्ये दिव्यश्वरी हाइड्रोपावरको सर्वाधिक अंकले सेयरमूल्यमा गिरावट आएको छ । हाइड्रोपावरको सेयरमूल्य करिब ९ प्रतिशतले घटेको छ । त्यस्तै, कालिका माइक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य साढे तीन प्रतिशत र प्रिडिन्सियल इन्स्योरेन्सको २ दशमलव ९९ प्रतिशतले घटेको छ ।
सर्वाधिक सेयर खरिदबिक्री भएका कम्पनी
यस दिन चालू आवको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको नबिल बैंकको सर्वाधिक सेयर खरिद बिक्री भएको छ । बैंकको ६ करोड ३० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको ४ करोड ३५ लाख, महालक्ष्मी विकास बैंकको ३ करोड ८३ लाख र अरुण भ्याली हाइड्रोपावरको ३ करोड ५५ लाख बराबरको सेयर खरिदबिक्री भएको छ ।