काठमाडौं । निजी क्षेत्रबाट प्रवर्धित क्वेस्ट फर्मास्युटिकल्सको कारोबार बढ्दै गएको छ । सन् २०२१ मा कम्पनीले विभिन्न ब्राण्डका औषधि उत्पादन तथा बिक्रीबाट १ अर्ब ९५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
सन् २०२० मा क्वेस्टले १ अर्ब ८० करोड र सन् २०१९ मा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँको औषधी कारोबार गरेको थियो । ३ वर्षको वित्तीय विश्लेषणअनुसार क्वेस्टको बर्सेनि औषधी बिक्री तथा कारोबार रकम बढ्दै गएको देखिन्छ ।
उद्योग सन् १९९९ मा स्थापना भएको हो । मुटु, मधुमेह र छालाका साथै अन्य विभिन्न रोगहरुका लागि क्वेस्टले १०० प्रकारका औषधी उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । यसमध्ये २५ प्रकारका औषधी मधुमेह र मुटुसम्बन्धी रोगका लागि उत्पादन गर्दै आएको क्वेस्टले जनाएको छ ।
मुटु र मधुमेहको औषधी उत्पादनमा क्वेस्ट नेपालको अगुवा (लिडिङ) कम्पनी भएको छ । कम्पनीले विदेशबाट कच्चा वस्तु आयात गरेर विभिन्न प्रकारका औषधीहरु उत्पादन गरिरहेको छ । क्वेस्टको आम्दानीको मुख्य स्रोत मुटु र मधुमेह रोगको औषधी बिक्री हो । अन्य रोगहरुको औषधी पनि कम्पनीले उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।
आन्तरिक औषधी बजारमा ५० भन्दा बढी उद्योग रहेकाले उत्पादन तथा बिक्रीमा अधिक प्रतिस्पर्धा रहेको इक्रा नेपाल लिमिटेडले जनाएको छ । गत वर्ष कम्पनीका सेयर सदस्य १५ जनामा विभाजन गरिएको छ ।
जसमध्ये उमेशलाल श्रेष्ठ, पृथ्वी भण्डारी, उत्तमकुमार श्रेष्ठ र शैलेन्द्रप्रसाद वर्मा छन् । ४ जनाले कम्पनीमा ४५ प्रतिशत स्वामित्व होल्ड गरेका छन् । बाँकी ५५ प्रतिशत उनीहरुका परिवारका सदस्य र बिजनेस एसोसियटको हिस्सा रहेको छ । उमेशलाल नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष हुन ।
कम्पनीले लिन लागेको ९७ करोड रुपैयाँ ऋणलाई इक्रा नेपालले रेटिङ (शाख निर्धारण) गरेको छ । कम्पनीले इक्रा एनपी एलए एल वान ग्रेड पाएको छ । कम्पनीले औषधी उत्पादन बढाउन बैंकबाट ऋण लिन लागेको हो ।