काठमाडौं । विभिन्न क्षेत्रका पाँच दर्जन ठूला कम्पनीहरुले प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी थालेका छन् । बुक बिल्डिङ विधि, प्रिमियम मूल्य र थप निष्कासन (एफपीओ) मार्फत आईपीओ जारी गर्न ती कम्पनीहरुले आफ्नो स्वामित्व परिवर्तन गरी प्राइभेटबाट कम्पनी लिमिटेडमा रुपान्तरण भएका छन् ।
यसरी कम्पनी लिमिटेडमा रुपमान्तरण हुनेमा मोबाइल सेवा प्रदायक सिमेन्ट, स्टिल, वायुसेवा, जलविद्युत, अस्पताल, खानी, मिडिया हाउस, इक्विटी फण्ड, औषधिलगायत ५३ कम्पनी रहेका छन् । यी कम्पनीहरुले आईपीओ निष्कासन गर्न कम्पनी रजिस्ट्रारकाे कार्यालयबाट स्वामित्व परिवर्तन गरिसकेका छन् ।
जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई न्यूनतम १० प्रतिशत सेयर निष्कासन गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । निजी स्वास्थ्य संस्थाले सार्वजनिक निष्कासन गर्ने प्रयोजनका लागि स्वामित्व प्राइभेटबाट पब्लिक बनाएको कम्पनी रजिस्ट्रार प्रमुख महेश बरालले बताए ।
गत वर्ष मात्र ३० कम्पनीले आईपीओ निष्कासन गर्न आफ्नो स्वामित्व परिवर्तन गरी पब्लिक लिमिटेड भएका छन् । आर्थिक वर्ष ०७६/०७७ र ०७७/०७८ र ०७८/०७९ मा ५३ कम्पनीले स्वामित्व परिवर्तन गरेको कार्यालयले जनाएको छ ।
पब्लिकमा रुपान्तरण भएका सबै कम्पनीलाई आईपीओ वा एफपीओ निष्कासन गर्न बाध्यकारी गरिएको छैन । तर, पनि अधिकांश कम्पनीले आईपीओ निष्कासन गर्ने अभिप्रायका साथ पब्लिक लिमिटेडमा गएको रजिस्ट्रार प्रमुख बरालको भनाइ छ ।
१ अर्ब रुपैयाँ बढी चुक्ता पुँजी भएका कम्पनी आईपीओ र एफपीओमा जानुपर्ने प्रावधान अधिल्लो वर्षको बजेटले गरेको थियो । यस्तै नेपाल धितोपत्र बोर्डले उत्पादनमूलक उद्योग (रियल सेक्टर), पर्यटन र अस्पताललगायत सेवा क्षेत्रलाई पनि पब्लिकमा लैजान बुकबिल्डिङ विधि, प्रिमियम मूल्य र एफपीओ निष्कासनको व्यवस्था गरेको छ ।
तीन वर्षमा स्वामित्व परिवर्तन गर्ने कम्पनी
व्यावसायिक रुपमा निकै सफल तथा चर्चित फरक-फरक सेक्टरका करिब ५ दर्जन कम्पनीले कानुनी रुपमै आफ्नो स्वामित्व परिवर्तन गरी पब्लिकमा रुपान्तरण भएका छन् ।
प्राइभेटबाट पब्लिकमा स्वामित्व परिवर्तन गरेका कम्पनीले एक वर्षपछि आईपीओ निष्कासन गर्न पाउने व्यवस्था छ । तर, पब्लिकमा गएका सबै कम्पनीले साधारण सेयर निष्कासन नगर्न पनि सक्छन् । तर, अधिकांश पब्लिकमा जाने कम्पनी आईपीओ निष्कासन गर्ने उद्देश्यले स्वामित्व परिवर्तन गर्ने गरेको बराल बताउँछन् ।
यो वर्ष १६ कम्पनीले गरे स्वामित्व पविर्तन
चालू आर्थिक वर्षको फागुनसम्म ०७८०७९ मा १६ कम्पनीले स्वामित्व परिवर्तन गरी पब्लिक लिमिटेडमा रुपान्तरण भएका छन् । यस वर्ष लुप नेटवर्क, छायादेवी कम्पलेक्स, वाइट लोटस पावर, शिवम् प्लास्टिक, बन्दीपुर केवलकार, ओम सत्य साई स्टोन, याम्बलिङ हाईड्रोपावर, सीता एयरलाइन्स, मिजु इनर्जी, टक्सार पिखुँवाखोला हाइड्रोपावर, एमआईजी इन्भेस्टमेन्ट एन्ड रियल स्टेट, बूढानीलकण्ठ हेरिटेज, सिन्धुली एग्रो कम्पनी, नासा हाइड्रोपावर, मध्य ताराखोला हाइड्रोपावर र सिवादा इक्वीटी फन्ड पब्लिकमा रुपान्तरण भएका छन् ।
सञ्चार क्षेत्रबाट पब्लिकमा गएका कम्पनी
सञ्चार क्षेत्रका कान्तिपुर पब्लिकेसन र नेपाल रिपब्लिक मिडियाले स्वामित्व परिवर्तन गरी लिमिटेडमा रुपान्तरण गरेका छन् । यी दुई कम्पनीले स्वामित्व परिवर्तन गरी पब्लिकमा गइसकेपछि आईपीओ निष्कासनको बाटो खुलेको छ । दुबै मिडियाले आईपीओमा कहिले जाने भन्ने खुलाएका छैनन् ।
सिमेन्ट उद्योगले थाले आईपीओ निष्कासनको तयारी
हाल शिवम् सिमेन्टले मात्र आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रिमिय मूल्यमा गरी आईपीओ निष्कासन गरेको थियो ।
त्यस्तै, अन्य चार सिमेन्ट कम्पनी भने बुक बिल्डिङबाट आईपीओ ल्याउने तयारीमा जुटेका छन् । हाल सर्वोत्तम सिमेन्ट, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्ट बुक बिल्डिङ बिधिबाट आईपीओ ल्याउने तयारीमा छन् । पाल्पा सिमेन्टले भने आईपीओ निष्कासनको बारेमा केही जानकारी दिएको छैन ।
अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण
नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले आईपीओ निष्कासन गर्ने जनाएको छ । कम्पनीले आईपीओ निष्कासन पब्लिकबाट पुँजी संकलन गर्ने उद्देश्यले स्वामित्व परिवर्तन गरेको हो ।
कम्पनीले गत वर्ष स्वामित्व परिवर्तन गरेको थियो । पब्लिकमा गएको एक वर्षपछि कम्पनीले प्राथमिक आईपीओ निष्कासन गर्न पाउने व्यवस्था छ । कम्पनीको साधारणसभाले समेत आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
एनसेलको आईपीओ कहिले ?
मलेसियाको आजिआटा कम्पनीले एनसेलको स्वामित्व खरिद गरेपछि आईपीओ निष्कासनको प्रक्रिया सुरु भएको छ । एनसेल आजिआटा लिमिटेडमा रुपान्तरण भएको छ । उसले हालसम्म आईपीओ निष्कासनको तयारी थालेको छैन । यद्यपि तयारीमा रहेको जानकारी भने गराएको छ ।
कम्पनी ऐन २०६३ को दफा १२ मा ५ करोड रुपैयाँ बढी चुक्ता पुँजी भएका कम्पनी पब्लिकमा जानुपर्ने कानुनी व्यवस्था छ ।
यी कम्पनीले थाले आईपीओ निष्कासनको तयारी
पछिल्लो तीन वर्षको स्वामित्व परिवर्तन गर्ने ५३ कम्पनीमध्येका एक दर्जन बढी कम्पनीले आईपीओ निष्कासनको तयारी अघि बढाएका छन् । छायादेवी कम्प्लेक्स, प्रभु डिजिटल, सर्वोत्तम सिमेन्ट, मैलुङ खोला हाइड्रोपावरलगायत अन्य केही हाईड्रोपावर कम्पनीले आईपीओ निष्कासनको तयारी थालेका छन् ।
स्वामित्व फेरिँदैमा आईपीओ निष्कासन हुन्छ ?
स्वामित्व फेरिँदैमा आईपीओ निष्कासन गर्नुपर्छ भन्ने छैन । आईपीओ निष्कासन गर्ने वा नगर्ने कम्पनीको स्वतन्त्रताको विषय हो । कम्पनीको साधारणसभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरे कम्पनीले आईपीओ जारी गर्न सक्दछन् । प्राइभेटबाट पब्लिकमा रुपान्तरित कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी गर्ने निर्णय वार्षिक साधारणसभाबाट गराउँछन् ।
कम्पनी रजिस्ट्रारकाे कार्यालयको रेकर्डमा हालसम्म १६ सय बढी कम्पनीले आफ्नो स्वामित्व प्राइभेटबाट पब्लिकमा सारेको देखिन्छ । नेपाल धितोपत्र बोर्डमा भने २२८ कम्पनी मात्र सूचीकृत छन् ।
धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी बैंक तथा वित्तीय संस्थाको हकमा लाइसेन्स दिँदा नै धितोपत्रको सार्वजनिक निष्कासन अनिवार्य गरिए पनि अन्यको हकमा त्यस्तो नभएको बताउँछन् । कम्पनीहरु आफूअनुकूल आईपीओमा जान सक्ने भएकाले सूचीकृत कम्पनीको संख्या धेरै भएका गिरी बताउँछन् ।