काठमाडौं । पर्यटन क्षेत्रको अगुवा (पायोनियर) यती ग्रुप जलविद्युत क्षेत्रमा प्रवेश गरेको छ । हरेक क्षेत्रमा लगानी विस्तार गरेर बजारहिस्सा बढाउँदै अघि बढेको यती ग्रुपले दोलखाको गौरीशंकर गाउँपालिकामा निर्माणाधीन खानीखोला–२ जलविद्युत आयोजनामा लगानी गरेको हो ।
सासा हाइड्रोपावर प्रालिमार्फत निर्माणाधीन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । ३० मेगावाट क्षमताको खानी खोलाबाट आगामी सेप्टेम्बरदेखि बिजुली उत्पादनमा थाल्ने गरी काम भइरहेको लगानीकर्ता मध्येका एक पवित्र कुमार कार्कीले क्यापिटल नेपाललाई जानकारी दिए ।
७ वर्षअघि निर्माण सुरु भएको सो आयोजना नाकाबन्दी र कोरोना कहरका कारण पछि धकेलिएको हो । निर्माण अवधि लम्बिएसँगै लागतसमेत बढेको जानकारी आयोजनाले दिएको छ ।
सुरुमा प्रति मेगावाट लागत १० करोड रुपैयाँ अनुमान गरिएकामा पछि समय थप भएपछि लागत बढेर प्रतिमेगावाट १३ करोड रुपैयाभन्दा बढी हुने अनुमान कम्पनीले गरेको छ ।
यद्यपि वास्तविक लागत आयोजना सम्पन्न भएपछि मात्र आउने छ । आयोजनाको लागत बढ्दै गएर निर्माण हुँदासम्ममा करिब ४ अर्ब रुपैयाँ पुग्ने अनुमान कम्पनीले गरेको छ ।
आयोजनाको विद्युतगृहलगायत सिभिल संरचनाहरुको निर्माण अन्तिम चरणमा पुगेको छ ।
लगानीलाई विभिन्न क्षेत्रमा विस्तार गर्ने सोचका साथ हाइड्रो क्षेत्रमा प्रवेश गरेको यती ग्रुपले जनाएको छ ।
ग्रुपले यती एयरलाइन्स, तारा एयर, गोकर्ण फरेस्ट रिसोर्टसहित हिमाली जिल्लामा होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ ।