काठमाडौं । हवाई दुर्घटनालाई न्यूनीकरण गर्न भन्दै हेलिकप्टरहरुमा पनि उडान सुरक्षा व्यवस्थापन प्रणाली अनिवार्य गरेको छ । पछिल्लो समय हेलिकप्टर दुर्घटना हुने क्रम बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान सुरक्षा व्यवस्थापन प्रणाली लागू गरेको हो ।
क्यानका निमित्त महानिर्देशक राजन पोखरेलले उडान सुरक्षा व्यवस्थापन प्रणाली लागू गरिएको जानकारी दिए । त्यसका लागि १० ओटै हेलिकप्टर कम्पनीको प्रारम्भिक चरणको अडिट गरिसकको उनको भनाइ छ ।
यो प्रणाली जहाजमा मात्र लागू गरिएको थियो । हाल आएर क्यानले हेलिकप्टरको सुरक्षा प्रणालीलाई पनि लागू गर्न लागेको हो ।
प्रणाली अन्तर्गत कम्पनीको सुरक्षाको नीति र उद्देश्य स्पष्ट हुनुपर्ने, सुरक्षा जोखिमलाई व्यवस्थापन गर्ने र कम्पनीको उडान सुरक्षाको प्रत्याभूति गर्ने वातावरण बनाउने रहेको छ । क्यानले हेलिकप्टर सोसाइटी अफ नेपालसँगको सहकार्यमा उडान सुरक्षा प्रणाली लागू गरेको हो ।
तत्कालका लागि क्यानले काठमाडौं, नेपालगन्ज र विराटनगर विमानस्थलमा सुरक्षा व्यवस्थापन प्रणाली लागू गरेको छ । क्यानसँग पर्याप्त जनशक्ति नभएकाले तत्कालका लागि तीन ओटा विमानस्थलमा सुरक्षा व्यवस्थापन प्रणाली लागू गरिएको भए पनि विस्तारै सबै विमानस्थलमा लागू गरिँदै जाने निमित्त महानिर्देशक पोखरेलको भनाइ छ ।
हेलिकप्टरहरु विषेशगरी हाई अल्टिच्युडमा दुर्घटना हुने भएकाले त्यस्ता क्षेत्रमा जाँदा कतिको उँचाइमा जाने भन्ने विषय पनि यो प्रणालीअन्तर्गत राखिएको क्यानले जनाएको छ ।
गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित क्यानका उच्च तहका अधिकारीहरुको निधन भएपछि हवाई सुरक्षामा क्यानले थप कडाइ गरेको हो ।
हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेलले सुरक्षा व्यवस्थापन प्रणाली लागू हुँदा दुर्घटना हुने क्रम घट्ने विश्वास लिएका छन् । यो प्रणाली लागू हुँदा पाइलटको मनमानी घट्ने, टावरका कर्मचारीले आफूखुसी निर्णय गर्न नपाउने र जथाभावी हेलिकप्टर पार्किङ गर्न नपाउने उनको भनाइ छ ।
क्यानको गाइडलाइनअनुसार हेलिकप्टर उडानका क्रममा कति उँचाइमा उडान गर्न सकिने भन्ने विषय समावेश हुने भएकोले यात्रुहरुलाई समेत सुरक्षाको अनुभूति हुने महासचिव कडेलले जानकारी दिए । क्यानले लागू गरेको सुरक्षा प्रणाली पूर्ण रुपमा सबै हेलिकप्टर कम्पनीले लागू गर्नु पर्ने उनको भनाइ छ ।