काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । नयाँ वर्ष २०७९ मा पहिलो दिन २९.६० अंकले घटेको सेयर बजार सोमबार ४१.७७ अंकले घटेर २३४३.८७ बिन्दूमा आइपुगेको छ ।
यद्यपि, कारोबार रकम भने आइतबारको तुलनामा केही बढेको छ । आइतबार १ अर्ब ४२ करोडको सेयर किनबेच भएकोमा सोमबार १ अर्ब ५२ करोड रुपैयाँ पुगेको हो ।
सोमबार सुरुदेखि नै बजार घट्न थालेको हो । आइतबार बजार केही बढेर पछि घटेको थियो भने सोमबार सुरुवाती अवस्थाबाटै घटेको हो । यद्यपि, बीचमा एक पटक बजार माथि उठेको थियो । तर, टिक्न सकेन ।
यसअघि २०७८ को अन्तिम कारोबार दिनमा भने बजारमा केही उत्साह छाएको थियो । नयाँ वर्षपछि खुलेको सेयर बजार निरन्तर ओरालो यात्रामै छ ।
वैशाख लागिसकेको छ । अब बजारमा विस्तारै सकारात्मक माहोल सिर्जना हुने अपेक्षामा लगानीकर्ताहरु बसेका छन् । तथापि, बजारले अहिलेसम्म यस्तो खुसियाली भने छर्न सकेको छैन । अब सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पनि ७ गतेभित्र आइसक्ने छ । बैंकहरुको फागुनको महिनाको नाफाको विवरण उत्साहजनक आइसकेको छ । चैतको पनि विवरण थपिएर आउँदा नाफामा बढोत्तरी देखिने सम्भावना छ ।
यस त्रैमासको रिपोर्टबाट कम्पनीहरुको वर्षभरिको कमाई र लाभांश अनुपातको समेत मोटामोटी आँकलन गर्न सकिन्छ । यसर्थ, सोहीअनुसार लगानीकर्ताहरुले खरिदबिक्री रणनीति बनाउँछन् । सोही कारण बजारमा पनि क्रमशः चहलपहल बढ्ने अपेक्षा गरिन्छ । स्थानीय निकाय निर्वाचन पनि नजिकिँदैछ । निर्वाचनको माहोलमा बजारमा पर्याप्त पैसा आउने विश्लेषण गर्न सकिन्छ । यस्तै, नयाँ बजेटको तयारी सुरु हुनै लाग्दा चालू आवको सरकारी खर्च पनि वृद्धि हुन थालेको छ । यी सन्दर्भहरुमा केही समयपछि नै बजारले गति लिने विश्लेषकहरुको अनुमान रहेको छ ।
लामो समयसम्म नेप्से करेक्सनमा गएकाले मूल्यहरु निकै सस्तो भइसकेको अवस्था छ । यसर्थ, अब खासै तल जाने ठाउँ छैन । यस्तै, बुल र्याली सुरु हुनका लागि तरलता अवस्था र बैंक ब्याजदरले केही अप्ठ्यारो बनाइरहेको जस्तो देखिन्छ । थोरै तरलता अवस्था सहज हुने बित्तिकै बजारले नयाँ उचाईतर्फको यात्रा तय गर्ने दाबी गरिरहेका छन् ।
हाम्रो बजारलाई सेयर धितो कर्जामा ४–१२ करोडको सीमा, सेयर धितो कर्जामा जोखिम भार वृद्धि लगायतका कारण बजार-बजार अप्ठ्यारोमा परेको हो । तथापि, पछिल्ला दिनहरुमा थपिएका लगानीकर्ताको संख्याले यी समस्याहरुलाई क्रमशः चिर्दै अघि बढ्ने अपेक्षा गरिएको छ । बैंकमा तरलता अवस्था भने सहज हुन आवश्यक देखिन्छ । यस दिन १८५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य बढेको छ ।