काठमाडौं । बैंक तथा वित्तीय संस्थामा दरिलो उपस्थिति जनाएका व्यावसायिक घरानालाई नयाँ ऋण पाउनसमेत सकस भएको छ ।
उनीहरुले उद्योगको क्षमता विस्तार तथा नयाँ परियोजना सुरुवात गर्न नयाँ ऋण नपाएका हुन् ।
त्रिवेणी ग्रुप र लोमस ग्रुपको बैंक तथा वित्तीय संस्थामा ठूलो पकड छ । तर, तिनै ग्रुपले बैंकबाट ऋण नपाउँदा नयाँ परियोजा होल्ड हुन पुगेका छन् ।
त्रिवेणीले घोराही सिमेन्टको क्षमता विस्तारका लागि बैंकसँग ऋण माग्दा पाएको छैन । सोही कारण उसले क्षमता विस्तारलाई रोकेको छ ।
त्यसैगरी, लोमसले उदयपुरमा क्लिङ्करसहित सिमेन्ट उद्योग सञ्चालनका लागि आवश्यक तयारी गरिरहेको छ । लोमसले ३ हजार टन क्षमताको उद्योग ल्याउन ८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ । सोही अनुसार बैंकमा ऋणका लागि प्रस्ताव गर्दा बैंकले नयाँ ऋण दिन नसक्ने भन्दै हात उठाइसकेका छन् ।
त्रिवेणीले पनि घोराहीको क्षमता दोब्बर बनाउन बैंकसँग ३ अर्ब रुपैयाँ मागेको थियो । तर, बैंकले उक्त ऋण तत्कालका लागि दिन नसक्ने बताइसकेका छन् ।
त्यसैगरी, शारडा ग्रुपले बिलेट फ्याक्ट्री लगाउन नयाँ ऋण माग गरे पनि तत्काल सम्भव नभएको जवाफ बैंकले फर्काएको छ ।
उद्योगी सन्दीप गाडियाले वीरगन्जमा राइस मिल लगाउन आवश्यक तयारी चलिरहे पनि बैंकले नयाँ ऋण प्रवाह गर्न नमान्दा तत्कालका लागि उक्त प्रक्रिया रोकिएको छ ।
बैंकले अहिले प्रतिबद्धता जनाएको ऋण पनि दिन सकेका छैैनन् ।
‘पहिल्यै प्रतिबद्धता जनाएको ऋण त उपलब्ध गराउन सकिएको छैन, नयाँ ऋण दिने कुरै छैन’, एक बैंकका प्रमुख कार्यकारी अधिकृत भन्छन्, ‘अझसम्म बैंकको कर्जा निक्षेप अनुपात ९० मा आइसकेको छैन । केन्द्रीय बैंकले असार मसान्तपछि समय नथप्ने प्रष्ट संकेत गरेपछि बैंकरहरु थप दबाबमा छन्, जसकारण नयाँ ऋण पाउने सवाल नै छैन ।’
नेपाल बैंकर्स एसोसिएसनका अनुसार नयाँ परियोजना तथा क्षमता वृद्धिका लागि भनेर झण्डै २० देखि २५ अर्ब रुपैयाँ माग भएको छ ।
तर, बैंकले अहिले लगानी गर्न सक्ने अवस्था नभएको भन्दै ऋणीलाई फर्काउने गरेका छन् । यस्तो अवस्थामा उनीहरुले ६ महिनापछि मात्रै कर्जा दिने गरी प्रतिबद्धता जनाएका छन् ।
६ महिनापछि ऋण दिँदा हुनेलाई बैंकहरुले ऋण दिने प्रतिबद्धता जनाएका छन् ।