काठमाडौं । चालु आर्थिक वर्ष ८ महिनामा २७ वाणिज्य बैंकहरुले ४६ अर्ब ८६ करोड रुपैयाँ खुदनाफा गरेका छन् । माघको तुलनामा वाणिज्य बैंकहरुले ६ अर्ब ६१ करोड ७० लाख रुपैयाँ अर्थात १६.४४ प्रतिशत मात्र नाफा बढाएका छन् ।
माघसम्म वाणिज्य बैंकहरुले ४० अर्ब २४ करोड ८० लाख रुपैयाँ खुदनाफा गरेका थिए । यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक भएको छ । ग्लोबल आइएमईको खुदनाफा बढेर ३ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।
दोस्रोमा एनआईसी एसिया बैंक भएको छ । एनआईसी एसियाले ३ अर्ब २९ करोड रुपैयाँ खुदनाफा गरेको छ । यस्तै नबिल ३ अर्ब ४ करोड रुपैयाँ नाफा कमाउँदै तेस्रो बैंक भएको छ ।
यस वाहेक राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ६५ करोड, नेपाल बैंकले २ अर्ब, नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब १५ करोड, स्टाण्डर्ड चार्टर्ड बैंकको १ अर्ब ३९ करोड, हिमालयन बैंक १ अर्ब २९ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल बंगलादेश बैंकले १ अर्ब ३ करोड, एभरेष्ट बैंकले १ अर्ब २२ करोड, बैंक अफ काठमाडू (बीओके) ले १ अर्ब १० करोड, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले १ अर्ब ४० करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ३६ करोड, कुमारी बैंकले १ अर्ब ४८ करोड रुपैयाँ खुदनाफा गरेका छन् ।
यसैगरी लक्ष्मी बैंकले १ अर्ब १५ करोड, सिद्धार्थ बैंकले २ अर्ब ४ करोड, कृषि विकास बैंकले १ अर्ब ८० करोड, सिटिजन्स बैंकले १ अर्ब ४५ करोड, प्राइम कमर्शियल बैंकले २ अर्ब ५६ करोड, सनराइज बैंकले १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
यस्तै एनएमबी बैंकले २ अर्ब २१ करोड, प्रभु बैंकले १ अर्ब ६६ करोड, मेगा बैंकले १ अर्ब ६८ करोड र सानिमा बैंकले १ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेका छन् ।
सबैभन्दा कम नाफा कमाउने सिभिल बैंक रहेको छ । यस बैंकले चालु आर्थिक वर्षको ८ महिनामा ७३ करोड ६१ लाख रुपैयाँ मात्रै नाफा कमाउन सफल भएको छ । दोस्रो सबैभन्दा कम नाफा कमाउनेमा सेन्चुरी कमर्शियल बैंक भएको छ । उसले ९२ करोड ६७ लाख रुपैयाँ नाफा गरेको छ ।