काठमाडौं । नेपाल पर्यटन बोर्डले बीबीसी मास्टर सेफः ‘द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरुलाई आइतबार सम्मान गरेको छ ।
मास्टर सेफ सन्तोषा साहसहित सेफ एलेक्स वेब, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेज लगायतको टोलीलाई बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछाने लगायतले सम्मान गरेका हुन् ।
सेफहरुलाई सम्मान गर्दै बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले सन्तोष शाहले नेपाली पकवानलाई विश्व सामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताएका छन् ।
मास्टर सेफ सन्तोष शाहले नेपाली खानाका परिकारहरुलाई विश्वसामु पस्किएपछि नेपाल पकवान पर्यटनका हिसावले पनि महत्वपूर्ण गनत्वय हो भन्ने सन्देश फैलिएको छ ।
सेफ सन्तोष शाहले नेपाली खानालाई विश्व मञ्चमा पु¥याउन पाउँदा आफूलाई गर्व लागेको बताएका छन् । नेपालको पर्यटन विकासका लागि हिमाल र लुम्बिनी प्रसिद्ध गन्तव्यका साथसाथै नेपाली कला, संस्कृति, पकवान सबैको उत्तिकै महत्व रहेको बताएका छन् ।
उनले आफ्नो साथमा आएको टिमलाई पुनः नेपाल आउन र आफैं फेरि नेपाललाई नजिकबाट अनुभव गर्न पनि आग्रह गरेका छन् ।
सेफ एलेक्स वेब, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेजले आफूहरु नेपाल घुम्न, यहाँको कला संस्कृतिका बारेमा जान्न पाउँदा खुसी लागेको बताए ।