काठमाडौं । २०७९ को पहिलो दिन आइतबार सेयर बजार सूचक २९.६ अंकले घटेर २३८५.६४ अंकमा पुगेको छ । घट्दो क्रममा रहेको बजारले गत साताको अन्तिम दिन बुधबार ३० अंकले बढेकोमा नयाँ वर्षको सुरुवातसँगै बजार ओरालो लागेको छ ।
यद्यपि, कारोबारको सुरुमा बजारले बढ्ने संकेत देखाएर २४३५ अंकसम्म चढेको बजार ८ मिनेटपछि नै घट्न थालेको थियो र निरन्तर घट्दोक्रममै रह्यो । घट्दो क्रममै गएर २३८० सम्म झर्यो । तर, अन्तिम कारोबारमा केही बढ्न खोजेको संकेत देखायो । यसले सोमबार पनि बजार सुरुमा केही बढेको आभाव दिने संकेत गरेको छ ।
बजारमा सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासिक प्रतिवेदनलाई आधार बनाएर बजार चलखेल गर्ने प्रयास भए पनि असफल सावित भएको छ । खासगरी, बिग्रँदो अर्थतन्त्रमा गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि एकथरी लगानीकर्ताहरु उत्साहित भएका थिए । र, उनीहरुले सेयर धितो ऋणमा लगाएको ४ र १२ करोडको क्याप हटाउने भन्दै सामाजिक सञ्चाल रंग्याएका थिए ।
अर्कोतिर अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र केही पनि नभएको भन्दै ब्रिफिङ गरेपछि ती लगानीकर्ताहरुले सामाजिक सञ्जाल र व्यक्तिगत चिनेजानेका माध्यममार्फत बजार उचालिने हल्ला पिटाएका थिए ।
तर, परिस्थिति त्यस्तो होइन्, गभर्नर निलम्बनको असर बैंक तथा वित्तीय संस्थामा पर्छ । खासगरी, बैंक तथा वित्तीय संस्थाका सञ्चालक र व्यवस्थापकहरुले गभर्नर नभएका बेला मौका छोप्ने र संस्थालाई धरासायी बनाउने यात्रामा निष्कने कोसिस गर्ने गर्छन् । विगतमा गभर्नर निलम्बनमा रहेका बेला बैंकमा सञ्चालक हावी हुने संस्थाहरु धरासायी बनाएका धेरै उदाहरण छन् ।
नेपाल सेयर मार्केट एन्ड फाइनान्स, गोर्खा डेभलपमेन्ट बैंक, क्यापिटल मर्चेन्ड बैंकिङ एन्ड फाइनान्सलगायत डेढ दर्जनभन्दा बढी संस्थाहरु धरासायी भएका थिए । यसबीचमा कतिपय संस्था खारेजीमै पनि पुगे ।
केही वाणिज्य बैंकमा पनि ठूला घोटाला त्यसबीचमा भए । त्यसैले सेयर बजारका लागि गभर्नर समस्या होइनन्, बरु समाधान हुन् भन्ने बुझेका वास्तविक लगानीकर्ताहरु त्यस्ता चलखेलमा फस्न चाहेनन् र बजार भविष्य अझै कठिन रहेका आधारमा तल झर्यो । स्थिति यस्तै अन्याेलपूर्ण रहे बजार अझै तल जाने सम्भावना छ ।
तर, लगानीकर्ताका न्यूनबिन्दु तिर घट्दै आएको बेला लगानीको अवसर भने हो । तर, कति घट्छ भन्ने अहिले कै परिस्थिति हेरेर आंकलन गर्न नसकिने भएकाले लगानीकर्ताहरु पर्ख र हेरकै अवस्थामा छन् । बढ्दो ब्याजदर, ऋण प्रवाहमा गरिएको कडाई, तरलता समस्या, संकुचित हुँदै गएको अर्थतन्त्र, संकटपूर्ण अन्याेलपूर्ण वित्तीय क्षेत्रका कारण लगानीकर्ताहरुले सेयर बजारमा मन फुकाउन सकेका छैनन् । त्यसको पुष्टि कारोबार रकमबाट पनि हुन्छ ।
विगतमा २० अर्ब बढी कारोबार हुने गरेकोमा अहिले कारोबार रकम खुम्चिएर अर्बमै सीमित हुन थालेको छ । आइतबार १ अर्ब ४४ करोड रुपैयाँको मात्रै सेयर किनबेच भएको छ ।
आइतबार बजार घटाउनालाई १६७ कम्पनीको योगदान रह्यो । सबैभन्दा बढी हिमालयन उर्जाको नकारात्मक सर्किट लागेर कारोबार भएको छ भने इमर्जिङ नेपालको ७.५८ प्रतिशतले बजार घटेको छ । उता, घटेको बजारमा पनि नेष्डो लघुवित्तले लगातार सकारात्मक सर्किट लगाउने क्रमलाई निरन्तर जारी राख्दै आइतबार २४८८.९ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको छ । नेष्डोलाई पच्छ्याएको जाल्पा सामुदायिक लघुवित्तको ४.०३ प्रतिशतले मूल्य बढेको छ ।