काठमाडाैं । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै छ । कोरोना कहरका कारण संकटमा परेको आर्थिक गतिविधि क्रमशः सुधारको दिशामा गइरहेको छ । आम मानिसले सामान्य छलफलमा भन्ने गरेका छन्– पैसाको अभाव हुन थाल्यो । सरकारको विकास खर्च पनि उल्लेख्य रूपमा बढ्न सकेको छैन । बरु आयातको मात्रा भने उल्लेख्य वृद्धि भयो । त्यसले वैदेशिक मुद्रामा चाप परेको छ ।
सरकारले एकमुष्ट रूपमा समस्याको समाधान गर्न लागिपरेको बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले देशभित्र देखिएको आर्थिक संकटको निरुपणका लागि अर्थ मन्त्रालयले सरोकार भएका निकायसँग निरन्तर संवादमा रहेको बताएका छन् । यी र यस्ता अवस्था मुलुकभित्र देखिएको भए पनि घरजग्गाको कारोबारमा तरलता अभावले कुनै पनि समस्या नपारेको जस्तो देखिन्छ ।
विसं २०७८ मा मात्रै देशभर ७१ अर्ब ५७ करोड ३१ लाख ४ हजार ३१५ रुपैयाँबराबरको राजस्व संकलन भएको देखिन्छ । सरकारी विवरणमा प्राप्त भएको यो तथ्यांकभन्दा वास्तविक रूपमा घरजग्गाको कारोबार असाध्यै धेरै बढिरहने गरेको यससँग सम्बन्धित सरोकारवालाको भनाइ छ । घरजग्गाको कारोबार सरकारी मूल्यांकनका आधारमा मात्रै गर्ने गरेका छन् । तर, व्यावसायिक कारोबार भने सरकारी मूल्यांकनभन्दा धेरै बढी हुने गरेको नेपाल राष्ट्र बैंकले केही समय पहिले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमासमेत उल्लेख थियो ।
विशेष गरी, सहरी तथा शहरोन्मुख क्षेत्रमा घरायसी प्रयोजनका लागि बढी मात्रामा घर जग्गाको कारोबार हुने गरेको छ । काठमाडौं उपत्यकामा सहज रूपमा राम्राे जग्गा पाउनै मुस्किल हुन थालेको छ । पछिल्ला दिनमा इटहरी, मकवानपुरको हेटौंडा, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, कैलालीलगायत जिल्लामा बस्ती विस्तार भएको छ । सहरोन्मुख क्षेत्रमा समेत सहरीकरण तीव्र विस्तार भएको छ । खेतीयोग्य जमिन क्रमशः खण्डीकृत हुँदै गएको छ । विप्रेषणबाट प्राप्त भएको रकम अनुत्पादक क्षेत्रका रुपमा मानिने घरजग्गामा खर्च भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार २०७८ भर कुल १६ लाख २५ हजार ८५८ पटक घरजग्गा कारोबार भएको छ । कारोबारबाट १७ अर्ब १८ करोड ४ लाख ६८ हजार ८५२ बराबरको पूँजीगत लाभकर संकलन भएको देखिन्छ ।
विसं २०७७ मा मासिक औसतमा १० अर्बबराबर राजस्व संकलन हुने गरेको विवरण रहेकोे भए पनि २०७८ सालमा केही घटेको देखिन्छ । तर, बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव रहेको भनिएका बेला झण्डै ७२ अर्ब रुपैयाँबराबरको राजस्व संकलन हुनु आफैंमा विचारणीय प्रश्न बन्न पुगेको छ ।
विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारीले यो विवरण अघिल्लो वर्षको तुलनामा कम देखिए पनि थप विवरण अर्का सहसचिव रामकुमार श्रेष्ठसँग बुझ्न आग्रह गरे । विभागका अनुसार गत भदौमा सबैभन्दा बढी कारोबार भएको वार्षिक विवरणमा देखिन्छ । सो महिना ८ अर्ब २६ करोड ८५ लाख ३२ हजार २१८ रुपैयाँबराबरको राजस्व संकलन भएको देखिन्छ ।
गत साउनमा आर्थिक वर्ष सुरु हुँदा ८ अर्ब १३ करोड ४१ लाख ६१ हजार ६९० बराबरको राजस्व संकलन भएको थियो । वार्षिक रूपमा हेर्दा, २०७८ वैशाखदेखि गत चैतसम्म आइपुग्दा एकाध महिना मात्रै कोरोनाका कारण राजस्व संकलन प्रभावित भएको भए पनि अन्य महिना औसतमा ६ अर्बबराबरको राजस्व संकलन भएको विभागको तथ्यांक छ ।
विभागका अनुसार गत चैतमा ५ अर्ब ७५ करोड ७४ लाख ८८ हजार बराबरको राजस्व संकलन भएको थियो । सो महिनामात्रै १ अर्ब ३० करोडबराबरको पुँजीगत लाभकर संकलन भएको देखिन्छ । त्यस महिना ७० हजार ८३० पटक घरजग्गाको कारोबार भएको छ । गत फागुनमा ६ अर्ब २६ करोड १६ लाख १० हजार १०५ बराबर राजस्व संकलन भएको थियो । त्यसमध्ये १ अर्ब ४४ करोड ४६ लाख ३ हजार बराबरको पुँजीगत लाभकर प्राप्त भएको थियो । उक्त महिना कुल १ लाख ६२ हजार ६७८ पटक घरजग्गाको कारोबार भएको देखिन्छ ।
त्यस्तै गत माघमा ५ अर्ब ५० करोड १८ लाख ५० हजार ४३४ बराबरको राजस्व संकलन भएको थियो । त्यसमा १ अर्ब २६ करोड ५८ लाख ४४ हजार १३४ बराबरको पुँजीगत लाभकर प्राप्त भएको थियो । उक्त महिना १ हजार ३२ हजार ५३ पटक घरजग्गाको कारोबार भएको देखिन्छ ।
विभागका अनुसार गत पुसमा ६ अर्ब ७० करोड ४२ लाख ५० हजार ६८९, मंसिरमा ७ अर्ब ६ करोड ६५ लाख ६० हजार ७५२, कात्तिकमा ५ अर्ब ४९ करोड ५१ लाख ८३ हजार १८, असोजमा ७ अर्ब ३३ करोड २१ लाख १५ हजार ४९६ बराबरको राजस्व संकलन भएको देखिन्छ । यस्तै गत असारमा ६ अर्ब ७२ करोड ७४ लाख ४८ हजार ९६० राजस्व संकलन भएको थियो । कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमका कारण जेठमा भने कम मात्रै राजस्व संकलन भएको देखिन्छ ।
सो महिनामा २ करोड ७३ लाख ४३ हजार ६५८ र वैशाखामा ४ अर्ब २९ करोड ६५ लाख २३ हजार २८५ बराबर राजस्व संकलन भएको विभागको तथ्यांकमा देखिन्छ । ६८ अर्ब घर कर्जा प्रवाह बैंक वित्तीय संस्थामा तरलताको अभाव रहेको भन्दै कर्जा प्रवाह नै बन्द गरेको भए पनि चालू आवको पहिलो ८ महिनामा मात्रै ६८ अर्ब १० करोड ६७ लाखबराबरको रकम घर-कर्जामा गएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने मासिक विवरणका आधारमा व्यक्तिगत आवासकर्जा, रियलस्टेट कर्जामा ठूलो रकम प्रवाह भएको छ । केन्द्रीय बैंककाअनुसार १ करोड ५० लाखसम्मको व्यक्तिगत आवासीय कर्जामा मात्रै ३९ अर्ब ४ करोड ५१ लाख र रियलस्टेट कर्जामा २९ अर्ब ६ करोड १६ लाख बराबर रकम लगानी भएको छ ।
यो गत वर्षको तुलनामा १३.१ प्रतिशत बढी हो । गत वर्ष व्यक्तिगत आवास कर्जामा २१ अर्ब ३३ करोड २१ लाख मात्रै उपलब्ध गराइएको थियो । यस्तै रियल स्टेटतर्फ गत वर्ष ८ अर्ब ८६ करोड ५१ लाखबराबर प्रवाह भएको थियो । केन्द्रीय बैंकका अनुसार चालू आवको फागुन मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाले कुल व्यक्तिगत आवास कर्जा ३ खर्ब ३७ अर्ब ३० करोड ५७ लाख र रियल स्टेटतर्फ २ खर्ब १२ अर्ब ६७ करोड बराबर लगानी गरेका छन् ।
यस आधारमा हेर्दा घर जग्गामा मात्रै बैंक तथा वित्तीय संस्थाले ५ खर्ब ४९ अर्ब ९८ करोड ४२ लाखबराबरको ऋण लगानी गरेको देखिन्छ । घर जग्गामा लगानी हुने रकमलाई अनुत्पादक भनिए पनि लगानीको मात्रा भने बढ्दै गएको देखिन्छ । विप्रेषण, बैंक तथा वित्तीय संस्थामा संकलन हुने निक्षेपसमेत घरजग्गामा लगानी हुँदा औद्योगिक लगानी भने विस्तार हुन सकेको छैन ।
औद्योगिक क्षेत्रमा लगानी नहुँदा आर्थिक वृद्धिसमेत विस्तार हुन सकेको छैन । यसतर्फ सरोकार भएका निकायले समयमै सचेत भएर निर्णय गर्नुपर्ने आवश्यकता महसुस हुन थालेको छ । तरलताको अभावले घरजग्गाको कारोबारमा बिरामी लाग्दा त्यसको प्रत्यक्ष प्रभाव बैंक तथा वित्तीय संस्थामा देखिने र त्यसले अर्थतन्त्रमा संकट ल्याउनेतर्फ बेलैमा जागरुप हुनु जरुरी भइसकेको छ ।