बुटवल । एनएमबी बैंकको लुम्बिनी प्रदेशले सम्पदा यात्रा (हेरिटेज वाक) २०२२ कार्यक्रम सप्पन्न गरेको छ ।
विश्व सम्पदा दिवसको अवसरमा बैंकले लुम्बिनी प्रदेशका शाखाहरुका कर्मचारीको सहभागितामा हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो ।
करिब १५० जना कर्मचारीको सहभागिता रहेको कार्यक्रममा सहभागीले ‘साँस्कृतिक सम्पदालाई आफ्नो बच्चालाई जत्ति नै माया गरौं, यो मेरो साँस्कृतिक सम्पदा हो यसलाई म सफा राख्छु, साँस्कृतिक सम्पदा संरक्षण भावी सन्ततीक लागि मार्गदर्शन, अतिथिको सम्मानार्थ साँस्कृतिक सम्पदाको जगेर्नालगायतका नारा अंकित प्लेकार्डहरु बोकेका थिए ।
बुटवल ट्राफिकचोक स्थित बैकको कार्यालयबाट सुरु भएको पदयात्रा बुटवलको राममन्दिर लाइन, अमरपथ, हाटबजार, पुलचोक, पारी बुटवल हुँदै ऐतिहासिक किल्ला जितगढीमा गएर विसर्जन भएको थियो ।
कार्यक्रममा बोल्दै बैंकका प्रदेश प्रमुख नवीन विस्टले एनएमबीले २०११ देखि सम्पदा संरक्षणसम्बन्धी सचेतना जगाउने, सम्पदा संरक्षण गर्ने र नयाँ पुस्तामा सम्पदाको महत्त्व एवं जानकारी गराउने उद्देश्यले हेरिटेज वाक कार्यक्रम गर्दै आएको र तदअनुरुप आफूहरुले पदयात्रा कार्यक्रम गरेको जानकारी दिए ।
यस्तै उनले प्राकृतिक सम्पदा, मानवनिर्मित सम्पदा र परम्परागत संस्कृतिलाइ महत्त्व दिँदै तिनाउ नदी तटमा अवस्थित ऐतिहासिक जितगढी किल्लामा मौलिक बाजगाजाको साथमा पदयात्रा गरिएको बताए ।
बैंकले जितगढी संरक्षण समितिलाइ डस्टबिन, नेपालको राष्ट्रिय झन्डा, ऐतिहासिक दृश्य झल्काउने फोटोफ्रेम र मायाको चिनो हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा प्रदेश कार्यालयका जोखिम प्रबन्धक कमल न्यौपाने, क्षेत्रीय प्रबन्धकहरु युवराज पाठक, प्रभात सिंह खाती, सञ्चालक प्रबन्धक सुन्दर थापालगायत लुम्बिनी प्रदेशका शाखाका प्रबन्धक एवं कर्मचारीहरुको सहभागिता रहेको थियो ।
एनएमबी बैंकले दी फानान्सियल टाइम्स, लन्डनको ‘द ब्यांकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भइसकेको छ । यस्तै बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दी इयर नेपाल’ प्राप्त गरिसकेकको छ ।
बैंकले देशभरि ११ एक्सटेन्सन काउन्टर, २०१ शाखा र १३९ एटिएममार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।