काठमाडौं । पर्यटन क्षेत्रमा तीस वर्षभन्दा बढी समयदेखि क्रियाशील रहँदै आएको यती ग्रुपले हिमाली जिल्लामा ‘माउन्टेन लज अफ नेपाल’ को नामबाट चेन होटल विस्तार थालेको छ ।
हरेक क्षेत्रमा ३५ करोडदेखि ५० करोडसम्म लगानी गर्ने गरी यतीले चेन होटल फैलाउन लागेको हो ।
शेर्पा हस्पिटालिटीमार्फत हिमाली जिल्लामा घुम्न जाने पर्यटकहरुलाई स्तरीय रुपमा सुविधासम्पन्न सेवा दिने उद्देश्यका साथ विगत लामो समयदेखि यती ग्रुपले होटल तथा रिसोर्ट सञ्चालन गर्दै आइरहेको छ ।
ग्रुपका अध्यक्ष सोनाम शेर्पाले माउन्टेन लज अफ नेपालको नाममा हिमाली जिल्लामा चेन होटलका रुपमा फैलाउँदै जाने बताए । हाल ग्रुपले विभिन्न नाममा हिमाली क्षेत्रमा १७ वटा होटल तथा रिसोर्ट सञ्चालन गरिरहेको छ ।
यतीको सबैभन्दा बढी सोलुखुम्बुको सगरमाथा क्षेत्रमा होटल सञ्चालनमा छन् । साथै मनाङ, अन्नपूर्ण, पोखराको माथिल्लो भेगमा पनि सञ्चालन गरिरहेको छ भने मुस्ताङमा नयाँ होटलको तयारीसमेत गरिरहेको छ ।
अब निर्माण हुने होटल तथा रिसोर्टहरु ‘माउन्टेन लज अफ नेपाल’ कै ब्रान्डमा सञ्चालन गर्ने उनले जानकारी दिए । ससाना होटल तथा रिसोर्टहरु हिमाली क्षेत्रमा विस्तार गर्दै जाने योजनाका साथ यती ग्रुपले तयारी थालेको अध्यक्ष शेर्पाले बताए । थोरै लगानीमा स्तरीय सेवा दिन होटल विस्तार गर्दै लैजाने उनको भनाइ छ ।
पर्यटकहरुलाई घुम्न मात्र आऊ भनेर मात्र नहुँने बताउँदै उनीहरुलाई आवश्यक सेवा–सुविधा दिन होटल तथा रिसोर्टहरु निर्माण गर्न आवश्यक रहेका र त्यसतर्फ आफूहरुको ध्यान केन्द्रित रहेको शेर्पाले बताए ।
हाल ग्रुपले काठमाडौंमा गोकर्ण रिसोर्ट, जोमसोममा मोक्ष मुस्ताङ एन्ड यती माउन्टेन होम, कसेरा चितवन, लुम्बिनीमा होके रिसोर्ट सञ्चालन गरिरहेको छ ।
ग्रुपका होटल तथा रिसोर्टसँगै यती एयरलाइन्स, तारा एयर, एयर डाइनेस्टी हेलिकप्टर, वान दरबार मल, थामसेर्कु ट्रेकिङ सहित १ दर्जनभन्दा बढी कम्पनीहरु सञ्चालनमा छन् ।
सोही ग्रुपको अगुवाइमा ताप्लेजुङको पाथीभरामा केवलकार निर्माणसमेत अन्तिम चरणमा छ । यस्तै यतीले हाइड्रोपावर क्षेत्रमा पनि लगानी विस्तार गरेको छ ।