काठमाडौं । नेपालका लागि फोर्ड मोटर्सको आधिकारिक बिक्रेता गो अटोमोबाइल प्राइभेट लिमिटेडको सञ्चालन आम्दानी साढे २८ प्रतिशतले बढेको छ । गो अटोमोबाइलले गत वर्ष फोर्ड ब्राण्डको गाडी बेचेर ३ अर्ब ४८ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ ।
अघिल्लो वर्ष सन् २०२० मा २ अर्ब ७० करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । कोरोना महामारीले सो वर्ष गाडी बिक्रीमा कमी आएपछि सञ्चालन आम्दानीमा कमी आएको हो । कम्पनीले २०१९ मा फोर्ड ब्राण्डको गाडी बेचेर ३ अर्ब ९२ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
चालू आर्थिक वर्षको ६ महिनामा १ अर्ब ३० करोड ५० लाख रुपैयाँको मात्र व्यापार गरेको छ । विदेशी मुद्रा सञ्चिती घट्न थालेपछि नेपाल राष्ट्र बैंक गाडीको प्रतितपत्र (एलसी) खोल्न बन्द गर्ने बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकको निर्देशनले अहिले गाडी आयात बन्द भएको छ । यसको असर कम्पनीलाई पर्ने भएको छ ।
गत सेम्टेम्बरदेखि फोर्ड इन्डियाले गुजरातमा भएको भेहिकल एसम्बल प्लान्ट र चेन्नाइमा भएको इन्जिन प्लान्ट बन्द गरेको छ । यसले पनि कम्पनीलाई असर गरेको छ । भारतीय फोर्ड ब्राण्डको इकोस्पोर्ट, फ्रिस्टाइल र फिगोको बजार हिस्सा ९५ प्रतिशत थियो ।
भारतीय प्लाण्ट बन्द भएपछि आम्दानीमा असर परेको कम्पनीले जनाएको छ । यस्तै चिप (सेमिकन्डक्टर) आपूर्तिमा आएको अवरोधले पनि गाडी आयात प्रभावित बनेको छ । गोले अहिले थाइल्यान्डमा बनेको फोर्डको रेन्जर, एभरेष्ट, र्याप्टर एन्ड रेन्जर गाडी बिक्री गरिरहेको छ ।
गोल्छा परिवारको लगानी रहेको गो अटोमोबाइल्समा प्रवन्ध निर्देशक आकाश गोल्छाको ७० प्रतिशत स्वामित्व रहेको छ । सन् २००७ मा स्थापना भएको गो अटोमोबाइल्सको देशभर एक दर्जन डिलर रहेका छन् ।
कम्पनीले १ अर्ब ६ करोड रुपैयाँ ऋणको इक्रा नेपालले रेटिङ गरेको छ । गो अटोमोबाइलले इक्राएनपी ए थ्री प्लस रेटिङ पाएको छ ।