काठमाडौं । साझा यातायातले ३ वटा विद्युतीय बस वैशाख दोस्रो साता काठमाडौंमा ल्याउने भएको छ । बुधबार तातोपानी नाकाबाट नेपाल भित्रिएका बस भन्सार जाँचपासको लागि तातोपानीमै रहेका छन् ।
चैत ३० गते तातोपानी आइपुगेका बस नाकामा आवश्यक प्रक्रिया पुर्याएर दोस्रो साता काठमाडौं ल्याइने साझा यातायात सञ्चालक समिति सदस्य भुषण तुलाधरले जानकारी दिए । ‘विद्युतीय बस ३० गते तातोपानी आइपुगेका थिए, नयाँ वर्षको दिन भन्सार बन्द भएकाले काठमाडौं ल्याउनको लागि आवश्यक प्रक्रिया पुरा भएको छैन । अबको ३/४ दिनमा काठमाडौं ल्याउन सकिन्छ’ उनले भने ।
के–के हुन्छ परीक्षण ?
नेपाल आइपुगेका बसहरुको पहिलो चरणमा प्राविधिकहरुले परीक्षण गर्नेछन् । प्राविधिकहरुले सम्झौता अनुसारका बस हुन वा होइनन् ? भन्ने विषयको परीक्षण गरेपछि मात्रै सडकमा बस गुड्ने साझा यातयातले जनाएको छ । प्राविधिक टोलीको परीक्षणपछि थप परीक्षणका लागि विद्युतीय बसलाई कठमाडौंका सडकमा गुडाउने साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितको भनाइ छ ।
दिक्षितका अनुसार नेपालका सडक विशेषगरी काठमाडौंका सडकमा विद्युतीय बस गुडाउन कतिको सम्भव छ वा छैन ? भनेर जाँच हुनेछ । सीएचटीसी कम्पनीले एकपटक फूलचार्ज गरेपछि ४२ भन्दा बढी यात्रु लिएर विद्युतीय बस २०० किलोमिटर गुड्ने जनाएको छ । तर, नेपालमा कम्पनीको भनाइअनुसार बस गुड्न सक्ने वा नसक्ने र ब्याट्रीको क्षमता लगायतका विषयमा परीक्षण हुने बताइएको छ ।
कस्ले गर्छ परीक्षण ?
साझाले भित्र्याएको उक्त बस यातायाता व्यवस्था कार्यालय एकान्तकुनाले परीक्षण गर्ने छ । कार्यालयले नेपालका सडकमा उक्त बस उपयुक्त हुने जनाएपछि मात्रै बाँकी रहेका ३७ वटा बस नेपाल आउने साझा यातायातले जनाएको छ ।
बससँगै ब्याट्री चार्जर आउने
बसका लागि आवश्यक पर्ने चार्जर पनि सँगै आउने अध्यक्ष दिक्षित बताउँछन् । हाल पुल्चोकमा रहेको चार्जिङ स्टेसनबाट ३ वटा बस चार्ज हुनेछन् । तर, अन्य बसका लागि चार्जिङ स्टेसन बताउनुपर्ने उनको भनाइ छ । आवश्यक जग्गा मिलाउन साझाले सरकारलाई आग्रह गरेको छ
साझाको आग्रहअनुसार सरकारले पनि जग्गाको खोजी गरीरहेको दिक्षिले बताए । तर, जग्गा कति चाहिन्छ र कुन–कुन ठाउँमा भन्ने निश्चित भएको छैन । दिक्षित भन्छन्, ‘सरकारले कति जग्गा कुन–कुन ठाउँमा उपलब्ध गराउँछ त्यहीअनुसार भन्न सकिन्छ अहिले जग्गाको टुङ्गो लागेको छैन ।’ यद्यपी बाँकी अन्य बस आउने बेलासम्म चार्जिङ स्टेसन तयार हुने बताइएको छ । ३७ वटा बस नेपाल भित्रिन भने ४ महिनाभन्दा बढी समय लाग्ने दिक्षित बताउँछन् ।
साझा यातायातले चीनबाट ४० वटा विद्युतीय बस नेपालमा ल्याउने तयारी गरेको हो । जसमध्ये परीक्षणको लागि ३ वटा बस सुरुमा ल्याएको हो । २०७७ चैत १३ गते साझा यातायातले विद्युतीय बस खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्रमा ९ वटा कम्पनीले बस खरिद गर्ने इच्छा देखाएका थिए ।
तर, साझाले प्राविधिक ‘स्पेसिफिकेसन’ मिलेको र कम मूल्य कबोल गरेकाले सीएचटीसीसँग सम्झौता गरेको थियो । सम्झौतामा बससँगै आवश्यक चार्जरहरु खरिद गरी ५ वर्षसम्मको मर्मत सम्भारसमेत उसैले गर्ने उल्लेख छ ।
४० वटा विद्युतीय बस र तिनलाई आवश्यक पर्ने २० वटा चार्जिङ स्टेसनका लागि करिब ४४ करोड ८६ लाख २६ हजार रुपैयाँ र बस सञ्चालनका लागि आवश्यक तालिम तथा ५ वर्षको मर्मतसम्भार एवं स्पेयर पार्टस्का लागि ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ साझाले सीएचटीसीलाई बुझाउनु पर्र्ने हुन्छ ।
नेपाल भित्रिएका ३ वटा विद्युतीय बस पनि ४४ करोड रुपैयाँ भित्रैबाटै खरिद गरिएको हो । नेपाल भित्रिएका उक्त बस २६ सिट क्षमतासहित अपाङ्गमैत्री रहेका छन् ।