काठमाडौं । केही समयदेखि सनराइज बैंक आफ्नै आन्तरिक किचलोमा छ । यही किचलोले गर्दा बैंकको व्यावसायिक क्षमता खस्किँदै गइरहेको छ ।
बारम्बार सञ्चालक समितिमा देखिने विवाद र राष्ट्र बैंकले गरेको कारबाहका कारण बैंकको व्यवसाय खुम्चिको मात्रै छैन, नाफामा पनि धक्का लागेको छ । साथै सेयरधनीहरुसमेत असन्तुष्ट छन् ।
बैंकले सेयरधनीलाई दिने लाभांश र बैंकको मुनाफामा देखिएको गिरावटले बैंक कमजोर बन्दै गइरहेको देखिन्छ ।
स्वार्थी समूहले सनराइजमा आफूअनुकुल निर्णय गराउन खोज्ने र त्यसले व्यवस्थापनलाई काम गर्न समस्या हुन थालेपछि विस्तार क्षमता खस्किँदै गएको बुझिएको छ ।
सिर्जना फाइनान्ससँगको प्राप्ति प्रक्रिया भाँडिएपछि राष्ट्र बैंकले सनराइजलाई ३ वर्षका लागि शाखा खोल्न रोकेको छ । सो कारणले गर्दा पनि बैंकको व्यवसाय विस्तार हुन नसकेको हो ।
६ वर्षमा ३३ बाट ७ प्रतिशत लाभांश घट्यो
पछिल्लो ६ वर्षको बैंकको लाभांश इतिहास हेर्दा वार्षिक शेयरधनीलाई दिने लाभांश प्रत्येक वर्ष क्षमता घट्दै गइरहेको देखिन्छ । बैंकले २०७२/७३ मा कुल ३३.३३ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, २०७३/४४ मा १५, २०७४/७५ मा ११.५, २०७५/७६ मा १५.८, २०७६/७७ मा ८.२८ र २०७७/८८ मा ७ प्रतिशत लाभांश वितरण गरेको छ । यसरी लाभांश क्षमता कम हुँदै जानुले पनि बैंक वार्षिक रुपमा कमजोर बन्दै गइरहेको देख्न सकिन्छ ।
मुनाफासँगै वितरणयोग्य मुनाफामा समेत भारी गिरावट
चालू आवको दोस्रो त्रैमाससम्ममा बैंकले ७४ करोड ५५ लाख मुनाफा गरेको छ । बैंकले गत वर्षको दोस्रो त्रैमासमा ९४ करोड ९४ लाख मुनाफा गरेको थियो । गत वर्षको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्म मुनाफा ९ दशमलव ५४ प्रतिशतले कम हो । बैंकभित्रको किचलोले मुनाफामा समेत प्रत्यक्ष असर परेको देखिन्छ ।
त्यस्तै, गत वर्षको दोस्रो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा २१ करोड ३३ लाख रुपैयाँ रहेको थियो भने चालू आवको दोस्रो त्रैमासमा वितरणयोग्य मुनाफा १० करोड ११ लाख रुपैयाँ रहेको छ । यसरी हेर्दा वितरणयोग्य मुनाफामा समेत भारी गिरावट आएको छ ।
यसबाहेक गत वर्षको तुलनामा प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । बैंकको अधिकांश सूचकमा देखिएको गिरावट र भित्री किचलोले बैंकलाई खुम्चाउँदै लगेको देखिन्छ ।
आन्तरिक किचलोको श्रृखंला
सनराइज बैंकका डाइरेक्ट ओमकृष्ण जोशीले आन्तरिक विवादकै कारण डेढ वर्षअघि अर्थात् २०७७ साउन २२ गते राजीनामा दिएका थिए । उनले राजीनामा दिएको डेढ वर्ष बितिसक्दासमेत नयाँ डाइरेक्टर चयन हुन सकेको छैन । बैंक सञ्चालक समितिमा देखिएको खिचातानीले नयाँ डाइरेक्टर नियुक्त नभएको बुझिन्छ ।
तत्कालीन समयमा बैंकमा शैलेन्द्र गुरागाईं, मालचन्द्र दुगड, बच्चराज तातेडले बैंकका अध्यक्ष मोतिलाल दुगडको राजीनामा मागेसँगै बोर्डमा विवाद देखिएको थियो । गुरागाईं समूहले दुगडको राजीनामा नआए सीईओले राजीनामा दिनुपर्ने अडान राखेका थिए ।
सञ्चालकहरुको विवाद बाहिर आएपछि नियमन निकाय नेपाल राष्ट्र बैंकले सञ्चालकहरुलाई बोलाएर सहमति गर्न निर्देशन दिएको थियो । त्यसपछि बसेको बोर्ड बैठकमा सञ्चालकहरुबीच मिलेर बैंक चलाउने, बैंकलाई बलियो बनाएर लैजाने निर्णय भएको र अध्यक्ष र सीईओको राजीनामा विषयमा प्रवेश नगरेपछि सहमति भएको थियो ।
बैंकका विज्ञ सञ्चालकलाई गुटमा लागेर अध्यक्ष र सीईओको राजीनामा मागेपछि जोशी विवादमा परेका थिए । र, सोही विवादका कारण उनले राजीनामा दिएका थिए ।
हाल जोशीले राजीनामा दिएको पनि करिब डेढ वर्ष बितिसकेको छ । हाल सञ्चालक समितिमा अध्यक्ष मोतिलाल दुगड, डारेक्टरमा शैलेन्द्र गुरागाईं, मालचन्द्र दुगड, बच्चराज तातेड, शारदा शर्मा र दीपक नेपाल रहेका छन् । डारेक्टरहरुबीच नै विवाद देखिँदा नयाँ डाइरेक्टर नियुक्तिको विषय टुंगो लाग्न सकेको छैन ।
आफ्नो पकड भनेर अध्यक्ष दुगडले शारदा शर्मालाई आफ्नो पक्ष भने पनि शर्माले साथ नदिँदा उनी अल्पमतमा परेजस्तै थिए । नयाँ डाइरेक्टर नियुक्त गर्दा झनै अल्पमतमा पर्ने डरले पनि अहिले अध्यक्ष आफैंले डाइरेक्टर नियुक्तिमा चासो देखाएका छैनन् ।
सहमतिमा सीईओ नियुक्त भए पनि सञ्चालकहरुबीच असहमतिका कारण कार्यकाल सकिनु २ वर्षअघि नै सीईओबाट जनक शर्मा पौडेलले राजीनामा दिएका थिए । जनकपछि सुमन शर्मा सीईओ नियुक्त भएका हुन् ।
जनक सीईओ हुनुअघि सनराइज बैंकले निरज श्रेष्ठलाई नियुक्त गरेको थियो । तर, व्यवस्थापनमा विवाद भएपछि उनले बैंक नै नगई राजीनामा गरे ।
बैंकको सञ्चालकहरुले गुटबन्धी गरेका छन् । अध्यक्ष मोतिलाल दुगड र दीपक नेपाल एकातिर छन भने मालचन्द दुगड, शैलेन्द्र गुरागाईं र बच्चाराज तातेड अर्को समूहको गुटमा छन् । शारदा शर्मा मोतिलालकै पक्षको भए पनि अहिले मोतिलालले नै विश्वास गरेका छैनन् ।
मालचन्द समूहले अझै पनि मोतिलाललाई हटाउन खोजिरहेको छ । तर, मोतिलालले आफुलाई हटाउन प्रयास गरे सञ्चालक समितिनै भंग गर्ने चेतावनी दिइरहेका छन् ।
बैंकलाई मर्जमा जान लगानीकर्ताको लिखित दबाब
बैंकका संस्थापकतर्फका करिब ७० प्रतिशत लगानीकर्ताले एक वर्षअघि नै एभरेस्ट, हिमालयन तथा इन्भेस्टमेन्ट, नबिल, सिद्धार्थ, एनआईसी एसिया, एनएमबी, ग्लोबल आइएमई, प्राइम कमर्सियल, प्रभु, सानिमामध्ये कुनै एक बैंकसँग मर्जमा सनराइजलाई लैजानुपर्ने भन्दै अध्यक्ष दुगडलाई लिखित दबाब दिएका थिए ।
यसरी दबाव दिँदासमेत बैंकले मर्जमा जानका लागि पार्टनर छान्न सकेको छैन ।
नेपाल राष्ट्र बैंकले समेत सनराइजलाई कुनै बैंक छानेर मर्जरमा जान २ वर्षअघि नै निर्देशन दिएको थियो । केन्द्रीय बैंकले सनराइजमा गरेको पछिल्लो अनुगमनले पनि मर्जमा जान सुझाव दिएको छ ।
बैंकको सभाले समेत उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक–आपसमा गाभ्न वा गाभिन वा प्राप्ति गर्न उपयुक्त देखिएमा उपयुक्त कदम चाल्न अनुमति दिएको छ ।
तर, बैंकको आन्तरिक खिचातानीले अझै मर्जमा जान सक्ने अवस्थामा देखिएको छैन ।