काठमाडौं । सुनसरीमा १५ लाख टन क्षमताको देशकै ठूलो अन्न भण्डार निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।
यस्तै कम्पनीले कपिलवस्तु र पर्सामा समेत खाद्यभण्डार निर्माण गरिरहेको छ । यी तीनवटै भण्डारको लागत १ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
कपिलवस्तुस्थित १५ लाख टन क्षमताको अन्न भण्डार भने आगामी ६ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ । यसका साथै पर्सामा निर्माणाधीन २५ लाख टनको अन्न भण्डार एक वर्षभित्र सञ्चालनमा आइसक्ने कम्पनीका अध्यक्ष आनन्दकुमार अग्रवाल (बगारिया) ले जानकारी दिए ।
अत्याधुनिक प्रविधिबाट निमार्ण गरिएको अन्न भण्डारणमा किसानले आफ्नो उत्पादन आफैं भण्डारण गर्न पाउनेछन् । साइलो प्रविधिबाट निर्मित भण्डारण पूर्ण स्टिलको हो । यसले खाद्यन्नको गुणस्तरमा समेत कुनै असर नगर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जयमुकुन्द खनाल बताउँछन् ।
‘१४ प्रतिशत मोस्चराइजर भएका वस्तु राख्छौं । त्यसभन्दा बढी मोस्चर लेभल भए राखिँदैन’, उनले भने, ‘उचित तापक्रममा राखिने भएकाले किसानको वस्तुमा कुनै समस्या आउँदैन र गुणस्तर बिग्रिँदैन ।’
किसानलाई भाडामा दिने मोडेलमा यो भण्डारगृह निर्माण गरिएको हो । किसानले प्रतिमहिना प्रतिकेजी ५० पैसामा भण्डारण गर्न सक्नेछन् । भण्डारण गरेको अन्नको मौज्दात घट्दै गए भाडा पनि घट्दै जाने कम्पनीले जनाएको छ ।
साइलो प्रविधिमा निर्माण गरिएकाले जनशक्तिको समेत कम प्रयोग हुन्छ भने राखिएको वस्तुको बिमा पनि सोही कम्पनीले नै व्यहोर्ने छ ।
हाल मकै, गहुँ र भटमासको भण्डारण गर्न सकिनेछ । अहिले ५/५ हजार टन क्षमताका ३ वटा प्लान्ट छन् । त्यस्तै कम्पनीले कपिलवस्तुमा १५ हजार टनको खाद्य भण्डारण सुरु गरिरहेको छ भने पर्सामा २५ हजार टनको निमार्ण गरिहेको छ । हाल खाद्यन्नका लागि मात्रै निर्माण गरिएको भए पनि किसानको मागअनुसार फलफूल र तरकारीका लागि पनि शीत भण्डारणको व्यवस्था गरिने कम्पनीको भनाइ छ ।
कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, प्रोबियोटक इन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमबी बैंक, टिम भेन्चर्स र टिएनआई इन्भेस्टको मुख्य लगानी रहेको छ ।
त्यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंक, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्टसमेतले लगानी गरेका छन् ।
कम्पनी पब्लिक लिमिटेडमा दर्ता भएकाले करिब १४ करोड रुपैयाँबराबरको प्राथमिक सेयर (आईपीओ) ल्याउने तयारीसमेत गरेको छ ।