काठमाडौं । बाइस अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, हितग्राही खाता खोल्नेको संख्यामा बहार, नेपालको सेयर बजारमा वर्ष २०७८ ले स्थापित गरेको मानक हो ।
सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ५१ लाख २१ हजार ८६१ वटा हितग्राही खाता खुलेका छन् । यस्तै, ४२ लाख ३५ हजार ३९३ मेरो सेयरको एकाउन्ट खोलिएको छ ।
कुल ८ अर्ब ३६ करोड १५ लाख ४३ हजार ६८४ कित्ता सेयर अभौतिकीकरण गरिएको छ । यो विवरणले पनि नेपालको सेयर बजारमा भएको विस्तार र विविधीकरणको चित्रण गर्दछ ।
दोस्रो बजारमा सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जमा हालसम्म ३३० कम्पनी सूचीकृत भएका छन् । नेप्सेमा अझै पनि बैंक तथा वित्तीय संस्था एवं बिमा कम्पनीको बोलवाला देखिन्छ ।
वर्ष, २०७८ ले सेयर बजार नयाँ उचाइमा पुग्न सक्छ भन्ने एउटा रेकर्ड कायम गरेको छ । मिश्रित एवं पुँजीवादी अर्थ राजनीतिक प्रणाली अवलम्बन गरेका धेरै देशमा सेयर बजारमार्फत पुँजी संकलन गर्ने र लगानी विस्तार गर्ने गरिएको छ ।
कोरोना भाइरस संक्रमणको उच्च जोखिमका कारण लगानीका अन्य स्रोतमा भएको बञ्चितीकरणले पनि सेयर बजारमा असाध्यै ठूलो उभार आएको थियो । नेप्सेको विवरणअनुसार २०७८ भदौ २ गते नेप्से तीन हजार २०० को अंक नजिक पुगेको थियो । यो बिन्दु हालसम्मकै उच्च हो । त्यस दिन बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९० हजार रुपैयाँबराबर पुगेको थियो ।
राष्ट्रिय तथ्यांक विभागका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४१ खर्बबराबर छ तर, बजार पुँजीकरण जीडीपी भन्दा तीन खर्ब रुपैयाँ बढी भएको थियो ।
त्यस दिन बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९० हजार पुगेको थियो । राष्ट्रिय तथ्यांक विभागका अनुसार नेपालको कुल जीडीपी ४१ खर्बबराबर छ तर, बजार पुँजीकरण जीडीपीभन्दा ३ खर्ब बढी भएको थियो । विसं २०७७ चैत ३१ को अन्तिम कारोबार दिन नेप्से परिसूचक दुई हजार ७१४.७९ अंकमा बन्द भएको थियो ।
गत वर्षको पहिलो कारोबार दिन अर्थात् २०७८ वैशाख २ गते नेप्से परिसूचक २०।६७ अंकले बढेर २ हजार ७३५.४६ मा बन्द भएको थियो ।
अनेकन उतारचढावका बीच नेप्से परिसूचकले गत भदौ २ गते सबैभन्दा उच्च बिन्दुको इतिहास कायम गर्यो । त्यस दिन नेप्से परिसूचक तीन हजार १९८.६० मा पुगेको थियो । सेयर बजारमा थोरै पुँजी लगानी गर्नेले समेत राम्रै नाफा कमाएका थिए । तर, नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा व्यक्तिगत रुपमा ४ करोड र परिवारका थप ३ जनाले १२ करोड रुपैयाँबराबर मात्रै सेयर धितो कर्जा लिन पाउने बन्दोबस्ती गरेपछि सेयर बजारमा राम्रै हलचल भयो ।
सेयर लगानीकर्ताका विभिन्न समूहले केन्द्रीय बैंक सेयर बजार मैत्री नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
सेयर बजारलाई उत्पादनशील क्षेत्र मान्ने कि अनुत्पादक क्षेत्र मान्ने भन्ने बहस सधैंजसो चलिरहेको छ । केन्द्रीय बैंकको लगानी सीमाले पनि सो बहसलाई सतहमा ल्याइदियो । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना गैरकानुनी सेयर कारोबारमा संलग्न भएको पाइएपछि यसै वर्ष बर्खास्तीमा परे ।
सर्वोत्तम सिमेन्ट कम्पनीको साधारण सेयर बुक बिल्डिङ विधिबाट बिक्री गर्ने प्रयोजनका लागि बोर्डमा आवेदन दिनुअगावै अध्यक्ष ढुंगानाले छोरी रेविकाको नाममा १० हजार कित्ता सेयर खरिद गरेको समाचार सार्वजनिक भयो । नियमक निकायको प्रमुखले नै सेयर खरिद गरेको भन्दै चौतर्फी रुपमा आलोचना भयो । अर्थ मन्त्रालयले ढुंगानालाई के कसो भएको हो भन्ने जिज्ञासा राख्दै पत्राचार गर्यो ।
मन्त्रालयले आन्तरिक रुपमा मात्रै नभई विशेष छानबिन समिति नै गठन गरेर ढुंगानामाथि अनुसन्धान गर्यो । अनुसन्धानबाट उनले गैरकानुनी रुपमा सेयर खरिद गरेको पुष्टि भयो । अन्ततः उनी पदमुक्त बने । नेपालको सेयर बजारको इतिहासमा नियमक निकायको प्रमुख नै बर्खास्तीमा परेको पनि यो पहिलोपटक देखियो ।
त्यतिमात्रै नभई, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई पनि सर्वोत्तम सिमेन्ट प्रकरणले राजीनामा दिन बाध्य बनायो । साउदले समेत श्रीमतीको नाममा सेयर खरिद गरेको पाइएको थियो । नियामक र बजार व्यवस्थापकको रुपमा रहेको नेप्सेका प्रमुखलाई नै कारबाहीको दायरामा ल्याउने विषय सेयर बजारका लागि कालो इतिहासको रुपमा स्थापित भयो ।
विसं २०७७ को असार मसान्तमा १७ लाखको हाराहारीमा रहेको हितग्राही खाता हालसम्म आइपुग्दा ५१ लाख बढी पुग्नु पनि सेयर बजार क्रमशः विस्तारित हुँदै गएको छ भन्ने अर्थमा लिन सकिन्छ । धितोपत्र बजारमा लगानीकर्ता क्रमशः प्रविधिमैत्री बन्दै गएका छन् ।
आव २०७७÷७८ मा साधारण सेयरको प्राथमिक निष्कासनमार्फत २२ संगठित संस्थाले १५ अर्ब १९ करोड रुपैयाँ, हकप्रद सेयरमार्फत सात संगठित संस्थाले १४ अर्ब ५ करोड, ऋणपत्रमार्फत २३ कम्पनीको ६९ अर्ब ६० करोड र सामूहिक लगानी कोषमार्फत ९ वटा योजनाको ९ अर्ब ९० करोड गरी १ खर्ब ८ अर्ब ७४ करोड बराबरको पूँजी परिचालन गरिएको थियो । चालु आवको हालसम्म कुल १४ कम्पनीलाई साधारण सेयर बिक्रीको अनुमति दिइएको छ ।
ती कम्पनीले ३७ करोड ९२ लाख पाँच हजार ८०५ कित्ता सेयर ३ अर्ब ७९ करोड २५ लाख ८० हजार ५०० मूल्यमा बिक्री गर्नेछ । बोर्डमा विभिन्न २३ कम्पनीले साधारण सेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएको अवस्था छ ।
वर्षभर नै आशा जगाएको बजारले पछिल्ला केही महिनामा भने निराश बनाएको लगानीकर्ताको टिप्पणी छ । यद्यपि वर्ष, २०७८ को सेयर कारोबार हुने अन्तिम दिन गत बुधबारअर्थात् चैत ३० गते भने आशा जगाएर बन्द भएको थियो । त्यसदिन नेप्से ३०.२४ अंकले उकालो लागेर २ हजार ४१५.२४ मा बन्द भएको छ । यस आधारमा हेर्दा पनि बजार पुँजीकरण झन्डै १० खर्बबराबरले ओरालो लागेको देखिन्छ । त्यसबाट सेयर लगानीकर्ताले रु १० खर्ब बराबरको सम्पत्ति गुमाएका छन् ।