काठमाडाैं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजना आसपासका जनताका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले यही वैशाख ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित १० करोड मूल्यबराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्रीका लागि आह्वान गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी (१ अर्ब) को १० प्रतिशतले हुने १०० अंकित दरका १० लाख कित्ता सेयरमध्ये आयोजनाको मुख्य संरचना क्षेत्रमा पर्ने लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा नं ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिका–८ र ९का बासिन्दाका लागि सात लाख कित्ता सेयर सुरक्षित गरेको छ ।
साथै बाँकी ३ लाख कित्ता सेयर क्व्होलासोथार र मादी गाउँपालिकाका अन्य वडाका बासिन्दालाई छुट्याइएको छ ।
कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार आयोजना आसपास क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले यही वैशाख ११ गतेदेखि छिटोमा वैशाख २५ सम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी फागुन ९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।
कम्पनीले हाल क्व्होलासोथार गाउँपालिका तथा मादी गाउँपालिका भएर बहने रुदी खोलामा ‘रुदी ए आठ दशमलव आठ मेगावाट‘ र ‘रुदी बी छ दशमलव छ मेगावाट‘ क्षमताका दुई आयोजना निर्माण गरिरहेको छ ।
स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
साथै सानिमा बैंकको कास्की जिल्लामा रहेको बिरौटा तथा पोखरा शाखा, सिभिल बैंक लमजुङ शाखाको मालिङ शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेसीसहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेंसीसहर शाखा र आयोजनाको कार्यालयस्थलबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी–आइआर बिबी प्लस इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ ।