काठमाडाैं । बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गरिएको छ ।
भाडा समायोजनले काठमाडौं उपत्यकासहित यस प्रदेशमा बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढाइएको छ । नयाँ भाडादरअनुसार काठमाडाैं उपत्यकाभित्र सार्वजनिक गाडीमा ५ किलोमिटरसम्म न्यूनतम २० रुपैयाँ पुगेको छ ।
यसअघि न्यूनतम १८ थियो । यद्यपि यात्रुहरू भने २० रुपैयाँ तिर्न बाध्य भएको बताइएको छ ।
त्यस्तै १० किलोमिटरसम्म २५, १५ किलोमिटरसम्म ३०, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।
यस्तै ट्याक्सीमा सुरुको न्यूनतम ५० र प्रतिमिटरको भाडा १० रुपैयाँ कायम गरिएको छ ।
प्रतीक्षा शुल्क प्रतिमिनेट एक रुपैयाँ २० पैसा तोकिएको छ । बढीमा ३० मिनेटसम्म प्रतीक्षा गर्न पाइनेछ । बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने रात्रिकालीन ट्याक्सीमा प्रतिमिटरको हकमा १३ रुपैयाँ कायम गरिएको छ ।
पछिल्लोपटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा त्योभन्दा धेरै वा कम भएका प्रदेशभित्र सञ्चालन हुने गाडीमा भाडा समायोजन गर्ने बताइएको छ ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णयअनुसार भाडादर समायोजन भएको हो ।
भाडा समायोजनसँगै नयाँ आर्थिक वर्षमा सार्वजनिक यातायातमा नगदरहित गराउनका लागि कार्डको प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।